गृह मन्त्रालयबाट ६ महिनायता भएका कामको सूची सार्वजनिक

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले ६ महिनाको अवधिमा गरेका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेको छ । ७१ बुँदे कार्यसम्पादन सूचीमा प्रहरीको रासनभत्ता बढाइएकोदेखि राष्ट्रिय परिचयपत्र वितरणमा गरिएको सम्मका विषय समेटिएका छन् । 

गृह मन्त्रालयका अनुसार कार्यसम्पादन सूची मन्त्रालयको नेतृत्व बालकृष्ण खाणले सम्हालेयताका हुन् । सूचीको पहिलो बुँदामा नीतिगत कार्यसम्पादन परेका छन् । ६ महिनाको अवधिमा संघीय प्रहरी र प्रदेश प्रहरीबीचको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (संशोधित) सम्बन्धी अध्यादेश जारी गरिएका छन् । 

यसअवधिमा अन्तरप्रदेश प्रहरी परिचालन निर्देशिका, संघीय प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वय कार्यविधि, प्रदेश प्रहरीको क्षमता अभिवृद्धि निर्देशिका, निर्वाचन सुरक्षा योजना, राष्ट्रिय राजमार्ग सुरक्षा कार्यविधिलगायतका विषयमा मस्यौदा तयार गरिएका छन् । 

नेपाल प्रहरीमा राजपत्र अनंकिततर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक,  प्रहरी वरिष्ठ हवल्दार र  प्रहरी सहायक हवल्दार दरबन्दी सिर्जना गरी लामो अवधिदेखि बढुवाको प्रतीक्षामा रहेकाहरूको बढुवा खुलाइएको पनि कार्यसम्पादन सूचीमा परेको छ । नेपाल प्रहरीमा आवद्ध श्रेणीविहीन कर्मचारीका लागि समेत तह निर्धारण गरिएको हुँदा यसबाट एक हजार आठ सय ९० कर्मचारीलाई फाइदा पुगेको सूचीमा उल्लेख छ । 

त्यस्तै, नयाँ दरबन्दी थपले प्रहरीमा १४ हजार पाँच सय ५२ प्रहरी जवान, तीन हजार तीन सय ८३ प्रहरी हवल्दार र एक हजार एक सय ७९  वरिष्ठ नायब निरीक्षक गरी कुल २१ हजार चार प्रहरी बढुवा हुने गृह मन्त्रालयले जनाएको छ । प्रहरीको भत्ता १५ प्रतिशत वृद्धि पनि यही अवधिमा भएको उल्लेख छ । 

सूचीअनुसार अध्यागन तथा सीमा प्रशासनतर्फ अवैधानिक तवरले नेपाल बसोबास गर्ने एक सय ५४ विदेशी नागरिकलाई देश निकाला यही अवधिमा गरिएका छन् । राष्ट्रिय परिचयपत्र वितरणका लागि १२ जिल्लामा विवरण संकलन यही अवधिमा भएको छ । जसबाट २३ लाख ७४ हजार आठ सय ८१ नागरिकको विवरण संकलन भइरहेको छ । विभिन्न जिल्लाका १७ इलाकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थायी स्टेसन स्थापना गरिएको उल्लेख छ ।

सुझावित समाचार