प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ मा स्थानीय तह निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरूसँगको भेटमा जेठ ४ मा नै स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।
सोमबार साँझ बागमती प्रदेश सभापति इन्द्र बानियाँ नेतृत्वको प्रदेश कार्यसमितिका पदाधिकारीहरूसँगको भेटमा देउवाले जेठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको बताएका हुन्।
भेटमा सहभागी बागमती कांग्रेसका महामन्त्री राजु श्रेष्ठका अनुसार प्रधानमन्त्रीले देउवाले सबै स्थानीय तहको निर्वाचन एक साथ हुने बताएका थिए। ‘जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने तयारी छ। तपाईंहरू तयारी गर्नुस्,’ प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै उनले नयाँ पत्रिकासँग भने, ‘उहाँले सबै स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभयो।’
प्रदेश सभापति बानियाँ नेतृत्वको प्रतिनिधिमण्डल महाधिवेशनपछि पहिलोपटक सभापतिमा निर्वाचित भएका देउवालाई बधाई दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो।