गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।
सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो । चालू आर्थिक वर्ष ०७८/७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेन्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताए ।
‘चालू आर्थिक वर्षका लागि हाम्रा एजेन्डा अघि बढाउनेका लागि पनि हामीलाई कमसेकम पाँच अर्ब रुपैयाँको आवश्यक परेको यी सबै महसुस गरेर हामीले गण्डकी प्रदेश सरकारको तर्फबाट मेरो आफ्नो नेतृत्वमा हाम्रो अर्थमन्त्रीज्यू, भौतिक मन्त्रीजीसहितको प्रतिनिधिमण्डल आएका छौँ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘आएर सम्माननीय प्रधानमन्त्रीजीलाई भेटेर हाम्रो प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट हामीले गरेका अपेक्षाहरू सबै लिखित रूपमा औपचारिक रूपमा हामीले बुझायौँ ।’
उनले विगतको सरकारले धेरै आयोजना बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजना प्रक्रियामा राखेको, तर स्राेत सुनिश्चित नगरेका कारण आफ्नो सरकारमाथि १६ अर्बभन्दा बढीको दायित्व थपिएकाले त्यसलाई समाधान गर्नका लागि प्रधानमन्त्रीसँग भेटघाट गरेको बताए ।
मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको प्रतिनिधिमण्डलले आज नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेटेर जग्गा प्राप्तिको कानुनी जटिलतालाई समाधान गरेर अघि बढ्ने विषयमा छलफल भएको पनि बताए । उनले कतिपय ठूला आयोजना वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रीय सरकारसँग मात्रै भएकाले त्यसलाई समाधान गर्ने विषयमा पनि वन मन्त्रालयसँग छलफल हुने जानकारी दिए ।