सहिदहरूको विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । 

आइतबार सहिद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।  सहिद स्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएका सबै सहिदहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’

सहिदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरूबारे युवा पुस्तालाई जागरुक बनाउनुपर्ने बताए । उनले सहिदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको बताउँदै सहिदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट  मुक्ति दिलाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । 

उनले अबको देशको गन्तव्य आर्थिक रूपान्तरण र सुशासन भएकाले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रूपान्तरण गर्नुपर्ने पनि बताए । 
 

सुझावित समाचार