संक्रमित अहिलेसम्मकै धेरै

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण
संक्रमित अहिलेसम्मकै धेरै

शुक्रबार ट्रपिकल अस्पताल टेकुमा कोभिडविरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण

पछिल्लो २४ घन्टामा १२ हजार तीन सय ३८ मा संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

नेपालमा कोरोना महामारी सुरु भएयताको सबैभन्दा बढी संक्रमित बिहीबार थपिएका छन् । २४ घन्टामा १२ हजार तीन सय ३८ जना संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार सातजनामा पिसिआर परीक्षण गर्दा १० हजार ५२ र ६ हजार चार सय ९० जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार दुई सय ८६ गरी कुल १२ हजार तीन सय ३८ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ६ सय ४९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा संक्रमणबाट चारजनाले ज्यान ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार तीन सय २८ रहेको छ ।

कोरोना बढ्यो, खोप सेवा बढेन 
कोरोनाको तेस्रो लहरमा काठमाडौं उपत्यका नराम्रोसँग घेराबन्दीमा परेको छ । कोरोनाको पहिलो र दोस्रो लहर राजधानीबाहिरबाट प्रवेश पाएको थियो । तर, तेस्रो लहरको उत्पत्ति नै राजधानीबाट सुरु भएको अधिकारीहरू बताउँछन् । दैनिक संक्रमित पुष्टि हुँदा राजधानीको दर बढ्दो क्रममा छ । 

बिहीबार देशभर १२ हजार तीन सय ३८ संक्रमित पुष्टि हुँदा चार हजारभन्दा बढी काठमाडौंका मात्रै छन् । बुधबार चार हजार ६ सय ६८ नयाँ संक्रमित थपिएका थिए । भक्तपुरमा आठ सय ३१ र ललितपुरमा १३ सय ८६ थपिएका छन् । मंगलबार काठमाडौंमा चार हजार तीन सय २१, भक्तपुरमा पाँच सय ५६ र ललितपुरमा सात सय ५५ जना थपिएका थिए ।  राजधानीको कोरोना बढ्नुको मुख्य कारण भिडभाड भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आमिक्रोन संक्रमण तीव्र रूपमा बढ्नु र त्यही वेला काठमाडौंमा पार्टीका महाधिवेशनले भिड बढाउनु मुख्य कारण भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भिड व्यवस्थापन नभएका कारण यसपटक राजधानीमा बढी संक्रमित भएको बताउँछन् । 

खोप सेवा लगाउने स्थानमा पनि अचाक्ली भिड देखिएको छ । कहीँ सामाजिक दूरी कायम छैन । खोपकै कारण पनि केस फैलिरहेको चिकित्सकहरू बताउँछन् । देशभर खोप अभियान सञ्चालन भए पनि अपेक्षाअनुसार लगाउन सकेका छैनन् । बिहीबार दुई लाख ३४ हजार दुई सय १४ जनाले खोप लगाएका छन् । सरकारले भने दैनिक पाँच लाखसम्मको लक्ष्य लिएको थियो । देशभर ५७ हजार तीन सय २८ जना सक्रिय संक्रमित पुगेका छन् । सरकारी तथ्यांकअनुसार एक हजार चार सय ९२ जना मात्रै अस्पतालमा बसेका छन् । उनीहरूको अवस्थामा पनि सामान्य रहेको अधिकारीले बताए । हाल देशभर एक सय ८६ जना आइसियू र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

सार्वजनिक सेवामा आजदेखि खोपकार्ड अनिवार्य
सरकारले सार्वजनिक सेवामा शुक्रबारबाट कोभिडको खोप लगाएकालाई मात्र प्रवेश अनुमति लागू गर्दै छ । यसअघि नै भएको निर्णयअनुसार सार्वजनिक निकाय, कार्यालय, होटेल तथा रेस्टुरेन्टमा खोपको पूर्ण मात्रा लगाएकालाई मात्र प्रवेश दिन भनिएको छ । सार्वजनिक स्थल, पार्कमा पनि खोपकार्ड अनिवार्य गरिएको छ । 

गोष्ठी, सेमिनार, समीक्षा, बैठकमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठकलगायत क्रियाकलाप सकभर भर्चुअल माध्यमबाट गर्न भनिएको छ । तर, भौतिक रूपमै उपस्थित भएर गर्नुपरेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई मात्र बढीमा २५ जना सहभागी हुनेगरी सञ्चालन गर्न स्वीकृति दिइएको छ । त्यस्तै, सबै प्रकारका आमसभा, जुलुस, भेला तथा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

काठमाडौंमा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा जोरबिजोर प्रणाली 

तेस्रो लहरको सुरुवातदेखि कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुँदै छ । स्वास्थ्य मन्त्रालयले माघ दोस्रो साता संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेका वेला उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले जोरबिजोर लागू गर्ने निर्णय गरेको हो । 

जोर मितिमा जोर र बिजोर मितिमा बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘दुईपांग्रेसहितका सार्वजनिक र निजी सबै सवारीसाधनमा जोरबिजोर लागू गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘जोर मितिमा जोर र बिजोर मिति बिजोर नम्बरका सवारीसाधन चल्न पाउनेछन् ।’

औषधिलगायत स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडी, खाद्यान्न, फलफूल, तरकारी, माछामासु बोकेका तथा पशुपक्षीका दाना बोकेका सवारीसाधनलाई भने जोरबिजोर लागू हुनेछैन । सरकारी नम्बर प्लेटका सवारीसाधनलाई पनि जोरबिजोर लगाइएको छैन । 

सिडिओहरूको संयुक्त बैठकको निर्णयपछि तीनवटै जिल्ला प्रशासनले एकै व्यहोराको सार्वजनिक सूचना जारी गरी आलोपालो सेवाप्रवाहको प्रबन्ध मिलाउन पनि भनेका छन् । सार्वजनिक निकायका कैयौँ कर्मचारी पनि कोभिड संक्रमित भएको र भिडभाडका कारण संक्रमण बढ्न सक्ने भएकाले सेवा प्रवाहमा आलोपालो मिलाउन भनिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

त्रिविका ९ माघपछिका परीक्षा मात्र स्थगित हुने
त्रिभुवन विश्वविद्यालयले ९ माघदेखिका परीक्षा स्थगित गरेको छ । शुक्रबार बिएस्सी चौथो वर्ष र शनिबार व्यवस्थापन संकायको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गरी आइतबारदेखि मात्र परीक्षा स्थगित गर्ने त्रिविले निर्णय गरेको हो । कोभिडको संक्रमण तीव्र गतिमा फैलिएपछि परीक्षाहरू स्थगित भएको हो । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिएस्सी चौथो वर्षका थोरै विद्यार्थी र छोटो समयको भएकाले शुक्रबार परीक्षा सञ्चालन हुने बताए ।

बिएस्सीको सञ्चालन भइरहेको परीक्षा शुक्रबारबाट सम्पन्न हुने र आइतबारदेखि हुने भनिएको कानुन संकायका परीक्षा अर्को सूचना नहुन्जेल स्थगित गर्ने निर्णय भएको नियन्त्रक जोशीले बताए । उपत्यका र बाहिरका परीक्षा केन्द्रहरूमा शिक्षक, कर्मचारी तथा विद्यार्थीसमेत संक्रमित भएकाले बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शनिबार त्रिविको व्यवस्थापन संकायमा ठूलो संख्यामा प्रवेश परीक्षा दिँदै छन् । सो परीक्षा भने सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीका विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि व्यवस्थापन संकायले प्रवेश परीक्षा लिँदै छ । ठूलो संख्या भएको र खोपसमेत नपाएका विद्यार्थीहरू संक्रमणको त्रासमा छन् ।

त्रिविले परीक्षा स्थगित गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार बैठक बसेर निर्णय गर्ने बताए । ‘सम्भवतः भोलि बैठक बसेर बाँकी परीक्षा स्थगित गर्ने निर्णय हुन्छ,’ उनले भने । पूर्वाञ्चल विश्वविद्यालयमा बिहीबारसम्म परीक्षा चलेको थियो । 

लोकसेवाका लिखित परीक्षा स्थगित
कोभिड– १९ संक्रमणले लोकसेवा आयोगका परीक्षा पनि स्थगित भएका छन् । आयोगको बिहीबारको बैठकले ११ गतेदेखि माघ मसान्तसम्म तय भएको सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘कोभिड संक्रमणले परीक्षा सञ्चालन गर्ने स्थिति बनेन,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने, ‘अवस्था सहज भएपछि थप निर्णय हुनेछ ।’ उपसचिव प्राविधिक, स्वास्थ्य सेवा नवौँ तह, नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षा माघका लागि तय भएको थियो । तर, अब १ फागुनदेखि सञ्चालन हुने भनिएका लिखित परीक्षा पनि कम्तीमा एक साताको पूर्वसूचना दिएर पुनः तालिकीकरण हुने उनले बताए । आयोगका अन्य काम भने यथावत् रहनेछन् । 

कर्मचारीमा पनि कोभिड– १९ को संक्रमण बढेपछि पछिल्लो समय सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिसकेका छन् । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

सुनसरीमा ४८ स्वास्थ्यकर्मी संक्रमित 

देवेन्द्र कार्की/ धरान । सुनसरीका विभिन्न स्थानीय तहका ४८ जना स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण भएको छ । स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि अस्पतालहरूमा स्वास्थ्य सेवामा समस्या देखिन थालेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार इटहरी उपमहानगरपालिकामा १४, बराहक्षेत्र नगरपालिकामा १०, नरुवा नगरपालिकामा तीन, धरान उपमहानगरपालिकामा १७, हरिनगरा गाउँपालिकामा दुई र कोसी गाउँपालिकामा एकजना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

बराहक्षेत्र नगरको चतरा, मधुवन प्राथमिक स्वास्थ्य केन्द्र र प्रकाशपुर स्वास्थ्य चौकीका १० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । बुधबार र बिहीबार गरिएको परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ल्याबमा कार्यरत तीन र पारामेडिक्सका चिकित्सक दुई, प्रकाशपुरको स्वास्थ्य चौकीका दुई महिला र दुई पुरुष कर्मचारी तथा मधुवन प्राथमिक स्वास्थ्य केन्द्रका एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक जितेशजंग थापाले जानकारी दिएका छन् । उनीहरूसँग नजिक भएर काम गरेका स्वास्थ्यकर्मीहरू कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य केन्द्रहरू स्वास्थ्यकर्मीविहीन हुन थालेको स्थानीयले बताएका छन् । 

धरान उपमहानगरपालिकाका विभिन्न स्वास्थ केन्द्रका १७ जना स्वास्थ्यकर्मी संक्रमित छन् । वडा नम्बर १४ र २० को स्वास्थ्य केन्द्र बन्द नै गर्नुपरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

दुई स्वास्थ्यकर्मीसहित ३९ जनालाई कोरोना : सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

नरेन्द्रसिंह कार्की/ दार्चुला । दार्चुलामा दुई स्वास्थ्यकर्मीसहित ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आउने अधिकांशमा संक्रमण पुष्टि भएको हो । कोरोना देखिएकोमा दुईजना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । संक्रमण पुष्टि भएपछि अहिले भारतसँग सीमा जोडिएका नाकाहरूमा एन्टिजेन परीक्षण सुरु गरिएको उनको भनाइ छ ।

अहिले पुलघाट, जोलजीवी र दत्तुमा चेकजाँचको व्यवस्था मिलाइएको छ । सीमामा आउने सबैको अनिवार्य चेकजाँचको व्यवस्था मिलाइएको उनले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सामान्य र पछि जाँच गराउँदा पनि निको हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालका डा.आदर्श लिम्बूले सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन भनेको बताए ।

विगत केही दिनदेखि जिल्लामा कोरोना संक्रमित बढ्दै गएकाले सामान्य बिरामी नआउन आग्रह गरिएको उनले बताए । कोरोना संक्रमित बिरामीलाई राख्न ठाउँ अभाव हुने भएकाले तत्काल अस्पताल नआउन आग्रह गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय अस्पतालमा चिसोबाट प्रभावित भएर उपचारका लागि अस्पताल आइपुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको अस्पतालले जनाएको छ । 

कोरोना जोखिम बढ्दै गएपछि जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । जिल्ला कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाट बन्द गरेको हो । कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको जिल्ला कारागारका जेलर वीरेन्द्रसिंह धामीले जानकारी दिए ।

मध्यबिन्दु अस्पतालका २५ कर्मचारीलाई कोरोना, ओपिडी सेवा बन्द

रामकुमार श्रेष्ठ/ नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारीमध्ये एकचौथाइ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मध्यबिन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी एक सय कर्मचारीमध्ये २५ जनामा कोरोना देखिएको हो । अस्पतालका एकचौथाइ कर्मचारीमा कोरोना देखिएपछि अस्पतालको ओपिडी सेवा र पिसिआर परीक्षण सेवा बन्द भएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा र कोरोना परीक्षणका लागि एन्टिजेन प्रविधिबाट परीक्षण भने भइरहेको छ । अस्पतालको पिसिआर परीक्षण शाखाका कर्मचारीहरूलाई कोरोना देखिएपछि परीक्षणमा जटिलता थपिएको छ ।

सुझावित समाचार