उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधिमा रोक लगाएका छन्। मंगलबार उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूको संयुक्त बैठकपछि राजनीतिक भेला तथा धेरै मानिस एकैठाउँ जम्मा हुने गरी भिडभाडजन्य गतिविधि गर्न नदिने निर्णय भएको हो।
बैठकले आइतबार सिसिएमसिसीले गरेको आदेशलाई जस्ताको तस्तै पालना गर्ने निर्णय पनि गरेको छ। बैठकपछि विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न निर्देशन दिएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी मास्क तथा अन्य स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य गरिएको छ। बुधबारदेखि मास्कबिना बाहिर निस्कनेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।
तत्काललाई लकडाउन तथा सहर बजार बन्द गर्ने निर्णय नगर्ने जानकारी प्रमुख जिल्ला अधिकारीहरूले गराएका छन्। तर सामाजिक, आर्थिक, राजनीतिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालनालाई अनिवार्य गरिएको छ। स्वास्थ्य मापदण्ड उल्लंघन भएमा कारबाही हुने प्रशासनले जनाएको छ। सार्वजनिक ठाउँमा धेरै मानिस जम्मा गर्ने गरी कार्यक्रम नगर्ने, मेला तथा महोत्सव सञ्चालन गर्न नपाइने, होटेल तथा रेस्टुरेन्टहरूले रातिसम्म अनावश्यक भिड जम्मा गर्न नपाइनेलगायत निर्णय पनि गरिएको छ। त्यस्तै सरकारी र निजी कार्यालयहरूमा हुने भिडलाई पनि रोक्न प्रशासनले आदेश जारी गरेका छन्। नापी कार्यालय, बैंक तथा वित्तीय कार्यालय, यातायात व्यवस्था, राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा अनावश्यक भिडभाड नगर्न निर्देशन जारी गरिएको छ।
उपत्यकामा सार्वजनिक सवारीसाधन अत्यन्तै भिडभाड हुने भएकोले २८ गतेदेखि भिडभाड गर्न नपाइने प्रशासनले जनाएको छ। सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, मास्क लगाएका यात्रुलाई मात्रै सवारीसाधनमा चढाउने, ढोकामा स्यानिटाइजर राख्ने, चालक र सहचालकले मास्क, पञ्जा र भाइजर अनिवार्य लगाउने र सवारीसाधन दैनिक रूपमा स्यानिटाइज गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी निर्देशनमा उल्लेख छ।
प्रशासनले माघ सात गतेदेखि सरकारी कार्यालयमा सेवा लिन जाँदा, होटेलमा प्रवेश गर्दा, हवाई यात्रामा जाँदा, रंगशाला र सिनेमा हलमा छिर्दा खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ।