कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी संवाद कार्यक्रममा नबिलको सहकार्य

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

नबिल बैंकले चितवनमा आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा आयोजक आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सहकार्य गर्ने भएको छ । बैंकले सहकार्यका लागि आयोजकसँग सम्झौता गरेको हो । 

५ देखि ८ माघमा चितवन एक्स्पो सेन्टरमा आयोजना हुने पा“चौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को आयोजना हुने भएको हो । मेलामा किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरू र नीति–निर्मातालगायतका कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालालाई एउटै थलोमा ल्याउने उद्देश्य रहेको जनाइएको छ । 

संवाद कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति–निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने बैंकले जनाएको छ । कृषि लगानीसम्बन्धी राष्ट्रिय संवादको प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख नीरजकुमार बस्नेत (डनिल)ले बताए ।

संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति–नियमबीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने उनको भनाइ छ । 

सहकार्यका लागि नबिल बैंकका नीरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनीता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हाल बैंकले देशभरमा एक सय ३५ शाखा, एक सय ८८ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार