भारतमा एकैदिन एक लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६ सय ३२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख आठ हजार संक्रमित भएका छन्।     
     
हाल यहाँ तीन हजार पाँच सय २३ जना ओमिक्रोनका संक्रमित रहेकाे पनि सो मन्त्रालयले आइतबार जानकारी दिएको छ। ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार चार सय नाैजना भने कोरोनामुक्त भएका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या पाँच लाख ९० हजार ६ सय ११ रहेकाे छ। गएको २४ घन्टामा भारतमा ४० हजार आठ सय ६३ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६ सय तीनजना कोरोना संक्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ।     
     
सोही अवधिमा थप तीन सय २७ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार सात सय ९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।     

सुझावित समाचार