रुसमा बढ्दो सोभियत ‘नोस्टाल्जिया’

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

रुसी पुरानो पुस्ता सोभियत संघलाई लिएर ‘नोस्टाल्जिक’ भएका छन् भने नयाँ पुस्तामाझ सोभियत संघले एक दन्त्यकथाको तिलस्मी मुलुकको छवि बनाएको छ


जब सोभियत संघको विघटन भयो, तब विघटन एकदमै स्वाभाविक एवं नियमितजस्तो देखिने घटना बन्न पुग्यो । २५ डिसेम्बर १९९१ मा मिखाइल गोर्बाचेभले सोभियत संघका नागरिकलाई सम्बोधन गरेर राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । सोही दिन राष्ट्रपति निवास क्रेमलिनबाहिर साँझ ७ः३० बजेपछि हावामा फरफराइरहेको सोभियत झन्डालाई खम्बाबाट तल झारिएको थियो । करिब पाँच मिनेट क्रेमलिनको आँगन झन्डाविहीन रहेको थियो र झन्डाविहीनताले राजनीतिक संक्रमण संकेत गरिरहेको थियो । बेलुका ७ः४५ रुसी झन्डाको झन्डोत्तोलन गरिएको थियो ।

भोलिपल्ट अर्थात् २६ डिसेम्बर १९९१ मा सोभियत संघ औपचारिक रूपमा विघटन भयो । म जन्मेको साम्राज्यको विघटनसँगै मेरो जीवनको पहिलो २६ वर्ष पनि पूरा भयो । मेरो परिवारले भोगेको दोस्रो विश्वयुद्ध र स्टालिनको दमनकारी तानाशाहीबाट भएको क्षतिको वृत्तान्तले पनि आफूलाई बिर्सायो । सन् १९९१ अगस्टमा भएको ‘कु’को असफल प्रयासपछि मेरा लागि सोभियत संघ इतिहासका पानामा सीमित रहन गयो । गोर्बाचेभले प्रयास नगरेका होइनन्, तर मुलुकको कमान उनका हातमा थिएन । मन्त्री एवं क्षेत्रीय नेताहरू एक–अर्कालाई मुलुकमा खाद्य सामग्री अभाव भइरहेको र भोकमरीको सामना गर्नुपरेको व्यहोरासहितका भयाक्रान्त चिठी लेखिरहेका थिए ।

रुसले सुधारवादी सरकार निर्माण सुरु गरिरहेको थियो । भर्खर–भर्खर पत्रकारितामा पाइला टेकेको म यस परिवर्तनले उत्साहित भइरहेको थिएँ । मैले काम गर्ने दैनिकमा सुधारकहरूले के–के सुधार गरिरहेका छन् भनेर दैनिक रिपोर्टिङ गर्थे । मेरा जेठा दाइ प्रमुख सुधारक येगोर गैदार (जो पछि प्रधानमन्त्री पनि भए) का सल्लाहकार बन्न पुगे । संक्रमण पार गर्न मुलुकले ठूलो अप्ठ्यारो झेलेको थियो, तर जनताका महत्वाकांक्षा बिस्तारै खिइँदै गए र रुसको ठूलो हिस्साले पुँजीवादले तत्काल खुसी ल्याउन नसकेको पाए । यति हुँदाहँुदै पनि सन् १९९३ को वसन्तमा भएको जनमत संग्रहमा मानिसले सुधारवादलाई मत दिए र त्यही वर्षको शरद याममा सुधारवादी पार्टी भ्योबर रोस्सी संसद्मा सबैभन्दा ठूलो स्थान बनाउन सफल भएको थियो । रुसमा उदारवादीहरू सफल भएको यो नै अन्तिम घटना थियो ।

सोभियत विघटनको चार वर्ष नपुग्दै सन् १९९४ मा युरी लेभाडाको नेतृत्वका समाजशास्त्रीहरूको अध्ययन समूहले रुसी नागरिकको मनोवृत्तिमा परिवर्तन भएको पाएका थिए । मानिसले व्यापारसँग जोडिएर आउने जोखिमलाई मध्यनजर गर्दै व्यापारका तुलनामा चुपचाप जागिर गर्न रुचाएका थिए । समय बित्दै जाँदा उल्लेख्य संख्याका रुसीहरू सोभियत अतीत नै राम्रो थियो भनेर सम्झिन थाले अर्थात् नोस्टाल्जिक हुन थाले । नयाँ वर्षमा टिभी कार्यक्रममा सोभियत गीत बज्न थाले, रेस्टुराँहरूमा सोभियत उत्तर–आधुनिकता झल्काउने मेनु लोकप्रिय हुन थाल्यो । अतीतको उत्साहले मूर्तरूप पाउनेमा मानिसहरू खासै गम्भीर थिएनन्, तर सन् २००० मा भ्लादमिर पुटिन नयाँ राष्ट्रपति बन्दा उत्साहले थोरबहुत मूर्तता पाउन थाल्यो । पुटिनले सोभियतकालको राष्ट्रगानको एक संस्करणलाई पुनस्र्थापित नै गरिदिए, जुन अहिलेसम्म गुन्जिरहेको छ । 

सोभियतको प्रेतलाई ब्युँझाउने राष्ट्रपतिका क्रियाकलाप राष्ट्रगानमा मात्रै सीमित छैनन् । पुटिनले सन् २००५ को चर्चित सम्बोधनमा सोभियत विघटन २०औँ शताब्दीको ‘सबैभन्दा ठूलो राजनीतिक क्षति हो’ भन्दै दुःख व्यक्त गरेका थिए । दुई वर्षपछि उनले म्युनिखको एक भाषणमा पश्चिमाहरूबाट रुस तिरष्कृत भएको बताएका थिए । पुटिनको यी अभिव्यक्तिले ‘मेक अमेरिका ग्रेट अगेन’को झल्को दिन्थ्यो, अर्थात् रुसको गौरवलाई फर्काऊ भन्ने अर्थ दिन्थ्यो । घरेलु श्रोताहरूले पुटिनका अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका थिएनन्, किनभने जनता सन् २००० को दशकको आर्थिक वृद्धि एवं उच्च तेल अर्थतन्त्रको आनन्द लिइरहेका थिए । 

पुटिनको लोकप्रियतामा ह्रास आउँदै गयो र रुसको आधुनिकीकरण अवश्यम्भावी हुन थाल्यो । यद्यपि, सन् २००८ मा जर्जियासँग भएको सानो युद्धले पुटिनलाई थोरै भए पनि फाइदा गरायो । तर, यो फाइदा धेरै टिकेन र सन् २०१२ मा सहरिया वर्गका मानिसबाट पुटिनले अभूतपूर्व विरोध खेप्न पुगे र उनले घोर पुरातनपन्थी नीति झल्काउने गरी प्रोपागान्डा गर्न थाले । सो प्रोपागान्डामा रुसको तथाकथित विजयी सोभियत इतिहासले महत्वपूर्ण हिस्सा ओगटेको थियो/छ ।

सन् २०१४ मा क्रिमियामाथि अतिक्रमण गरेर रुसमा गाभ्नुलाई ‘रुसी साम्राज्यको पुनस्र्थापना’का रूपमा चित्रित गरियो । अधिकांश रुसी नागरिकका मनमा साम्राज्यवादी महत्वाकांक्षा सुषुप्त रहेको थियो र पुटिनले यो महत्वाकांक्षालाई कुशलतापूर्वक जगाउने काम गरे । क्रिमिया युद्धको असर फिका पर्न थालेपछि पुटिनले सोभियत नोस्टाल्जिया ब्युँताउन थाले, जहाँ स्टालिनको शासनकाल विशेषतः महान् देशभक्तिपूर्ण युद्ध (ग्रेट पेट्रियोटिक वार) लाई रुसको विजयी इतिहासका रूपमा देखाउन थाले ।   

स्वतन्त्र संस्था लेभाडा सेन्टरको सन् २०२१ सेप्टेम्बरको एक अध्ययनअनुसार सर्वेक्षणका करिब आधा रुसी (४९ %) उत्तरदाताले सोभियतकालीन राजनीतिक व्यवस्था छनोट गरेका थिए । उल्लिखित सर्वेक्षण सोभियत समर्थनमा आएको मत यो शताब्दीकै कीर्तिमानी नतिजा हो । चाखलाग्दो के छ भने कार्नेजी मस्को सेन्टर र लेभाडाको हाम्रो शोधले सबै पुस्ताका मानिसमा सोभियतसम्बन्धी कुनै किसिमले पनि भिन्न धारणा देखिएन ।

पुरानो पुस्ता सोभियत संघलाई लिएर नोस्टाल्जिक भएका छन् भने नयाँ पुस्तामाझ सोभियत संघले एक दन्त्यकथाको तिलस्मी मुलुकको छवि बनाएको छ । अर्थात् नयाँ पुस्ताका नागरिकमा सोभियत संघमा सबै मानिस समान एवं स्वतन्त्र हुन्छन् र सख्त तर पितासमान शासकले शासन गर्छन् भन्ने आदर्श राज्यको छवि गढेको छ । मानिसहरू न्यायपूर्ण समाजको सपना देखिरहेका छन् र रुसी जनताले सोभियत प्रणालीबाहेक अन्य विकल्प नै भेटिरहेका छैनन् । सिएनएनबाट 

सुझावित समाचार