इन्टरनेट गुणस्तरीय बनाउने कार्ययोजना एक महिनाभित्र पेस गर्न संसदीय समितिको निर्देशन

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न निर्देशन दिएको हो।

समितिले आगामी आयोजना जनताले अपेक्षा गरेअनुरूप बनाउन पनि टेलिकमलाई निर्देश गरेको छ। समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्,  ‘नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको गुनासो आमनागरिकमा उठिरहेको सन्दर्भमा टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आमनागरिकले अपेक्षा गरेअनुरूप बनाउन टेलिकमको आगामी आयोजना, कार्ययोजना स्पष्ट रूपमा ३० दिनभित्र पेस गर्न नेपाल सरकारलाई हामीले निर्देशन गरिसकेका थियौँ। फेरि हामीले त्यसलाई पुनर्निर्देशन गरेका छौँ।’

समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेस गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पुर्याउने हो ? सोको कार्ययोजना पनि सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ। 

त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ। कुनै पनि निकाय वा संस्थालाई निरुत्साहित हुने गरी नभई संस्थाको हितमा हुने गरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन ध्यान पुर्याउन सरकारलाई समितिको निर्देशन छ।

सुझावित समाचार