बागमती प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त भएका छन् । बागमती सरकार मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा चितवनका डा. कृष्णराज पन्त र सदस्यहरूमा मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरेको हो ।
नियुक्त गरिएका सबैलाई बुधबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथग्रहण गराएका छन् । आयोगमा अझै एक महिलासहित एकजना विज्ञबाट सदस्य मनोनीत हुन बाँकी छ । केही दिनमा बाँकी सदस्य मनोनीत हुनेबारे सत्तारुढ दलका नेताहरूबीच छलफल जारी छ । उपाध्यक्ष पन्त नेकपा (एकीकृत समाजवादी), सदस्य लामिछाने माओवादी र अर्का सदस्य नेपाली कांग्रेसनिकटका हुन् ।
यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले हालका राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटालाई उपाध्यक्ष नियुक्त गरेका थिए । करिब दुई वर्ष आयोगको उपाध्यक्ष रहेका देवकोटाले पौडेल मुख्यमन्त्री भइरहेकै अवस्थामा राजीनामा दिएपछि आयोगका तत्कालीन सदस्य श्याम बस्नेतलाई कार्यबाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।