मेगाको मोबाइल बैंकिङमा थपियो सुविधा

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गरेर सुविधा थपेको हो । 

यसमा विनाचेक नगद निकाल्न–पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधासमेत थप गरेको बैंकले उल्लेख गरेको छ । साथै, बैंकले समान रूपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको जनाएको छ । 

एमभौचर प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एमक्यासका माध्यमबाट प्रयोगकर्ताले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्युआर कोडका माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषता रहेको बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए । 

मेगा स्मार्ट बैंकिङ मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकले बैंकका सेवाहरूसम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दती खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्युआर कोडमार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नुका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिन सक्नेजस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ एप र वेबका माध्यमबाट उठाउन सक्ने बैंकले जनाएको छ । 

सुझावित समाचार