निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको जनाएको छ।
प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ। यसैगरी, प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्याेगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ।
आयोगले प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १,४९३ गरी २,०२५ जनाको मतदाता नामावली यसअघि नै स्वीकृत गरिसकेको छ।