कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।
४००० मत गन्दासम्म देउवाले १९०० मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १४६७ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले २३० मत ल्याएका छन् । प्रकाशमान सिंहले २९६ प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० प्राप्त गरेका छन् ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ ।