मेरो संकल्पको कांग्रेस

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसले मुलुकको लोकतान्त्रिक भाष्यको मात्रै पुनर्लेखन गर्नेछैन, फेरि एकपटक विश्व लोकतान्त्रिक आन्दोलनमै रचनात्मक हस्तक्षेप गर्नेछ


हामी चौधौँ महाधिवेशनको महोत्सवमा छौँ । आज हामीले महाधिवेशनमा उठाउने एजेन्डा, गर्ने बहस र निकाल्ने निष्कर्षमाथि दशकौँपछि पनि गर्वपूर्वक देशले शिर ठाडो गरोस्, जसरी वीरगन्जको छैटौँ महाधिवेशनलाई हामी आजपर्यन्त सम्झन्छौँ । म पनि सपनाको होइन, संकल्पको नेपाली कांग्रेसमाथि चर्चा गर्दै छु । 

मेरो संकल्पको कांग्रेस त्यस्तो विशाल वृक्ष बन्नेछ, जसको छहारीमा कार्यकर्ता मात्र होइन, सर्वसाधारण जनताले समेत आफ्नो जीवन र आफ्नो समयका चुनौतीसँग जुध्न चाहिने ओत र संरक्षण पाउनेछन् । जनताका जीवनसँग प्रत्यक्ष जोडिएका जटिल प्रश्नहरूको जवाफ पार्टीको दार्शनिकी र दैनिकीले दिनेछ । विभिन्न पार्टीका उग्र वाम वा दक्षिणपन्थी वैचारिक दृष्टिभ्रमको सिकार युवाका लागि पार्टीसँग लोकतान्त्रिक जवाफ हुनेछ । 

अहिलेको विश्वमा लोकतन्त्रका केन्द्रहरूबाटै नश्लवादी तथा दक्षिणपन्थी सुनामी उठिरहेका छन् । दक्षिणपन्थीहरू चुनावबाटै विजयी भइरहेका छन् । विश्वव्यापी रूपमा देखिएका यी गम्भीर संकटलाई शीतयुद्धकालीन केही शब्दावली, नारा र दर्शनले पार लगाउन सकिँदैन । यही कांग्रेस हो, जो बिपी कोइरालाको नेतृत्वमा हिजो ‘सोसलिस्ट इन्टरनेसनल’को संस्थापक थियो । संसारमा लोकतान्त्रिक समाजवादको दर्शनमा कांग्रेसको क्रियात्मक उपस्थिति थियो । आदरणीय नेता प्रदीप गिरि ‘कांग्रेसले यस समय विचारधाराका ठाउँमा केही संस्कार, केही नारा, केही अपवाक्य, केही सित्तँै र उधारो आएका दान, उपदान र महावाणीबाट काम चलाइरहेको छ’ भनिरहनुभएको छ र ठीकै भनिरहनुभएको छ । तर, मेरो संकल्पको कांग्रेसले मुलुकको लोकतान्त्रिक भाष्यको मात्रै पुनर्लेखन गर्नेछैन, फेरि एकपटक विश्व लोकतान्त्रिक आन्दोलनमै रचनात्मक हस्तक्षेप गर्नेछ । 

मेरो संकल्पको कांग्रेसमा त्याग हाँसो होइन, अभिमानको विषय हुनेछ । निरंकुश पञ्चायत, राणाशासन वा माओवादी हिंसाको पर्वाह नगरी लोकतन्त्रको दीप बालेका हाम्रा हरेक अग्रज सहानुभूति होइन, गर्वका पात्र हुनेछन् । तिनले ग्लानि वा हीनता होइन, अभिमानसाथ आफ्ना सन्तानलाई आफ्नो संघर्षको कथा सुनाउन सक्नेछन् । कांग्रेस यस्तो पार्टी हुनेछ, जसका हरेक कार्यकर्ता विनापक्षपात सक्रिय हुने अवस्था बन्नेछ । यस्तो कांग्रेस जोसँग समाजका हरेक मुद्दामा मौनता होइन, जवाफ हुनेछ । यस्तो संगठन, जसमाथि हरेक कार्यकर्ता मात्र होइन, सम्पूर्ण देशवासीलाई गर्व हुनेछ ।

अबको कांग्रेस केवल चुनावी औजार हुनेछैन, राष्ट्रनिर्माणको एकीकृत अभियान हुनेछ । उदाहरणका लागि, प्रौढ शिक्षाका लागि कुनै विदेशी सहायताको याचना हुनेछैन । पार्टीले साक्षरताको अभियान चलाउनेछ र हजारौँ कांग्रेस कार्यकर्ता स्वयंसेवक हुनेछन् । हात धुनुपर्छ भनेर सिकाउन कुनै विदेशी सहायता चाहिनेछैन । पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिनेछन् । स्वरोजगारका हजारौँ कार्यशाला गरिनेछन् । आर्थिक रूपमा सबल कार्यकर्ताले कमजोर कार्यकर्ताको हात समाउनेछ । कार्यकर्ता र जनताको सीप विकासका लागि पार्टीले देशव्यापी अभियान चलाउनेछ । कार्यकर्तालाई आत्मनिर्भर बनाउन पार्टीले आन्दोलनकै रूपमा अग्रसरता लिनेछ । 

मेरो संकल्पको कांग्रेसमा अन्तर्राष्ट्रिय सम्बन्ध ‘नेपाललाई हेर्ने’ होइन, ‘नेपालले हेर्ने’ ठाउँमा हुनेछ । विकास राजनीति र विश्वव्यापीकरणका सवालमा उठ्ने शक्तिराष्ट्रका रणनीतिक योजना ‘के आयो’ भन्दा पहिले ‘के चाहिन्छ’ भनेर हेरिनेछ । ‘नेपाललाई चिनौँ, नेपालमा घुमौँ’ भन्ने मूल नारालाई आधार बनाएर नेपाललाई आन्तरिक र अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कांग्रेसले पहलकदमी लिनेछ । 

कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाले २००८ सालमै एकजना दलितलाई कांग्रेसको महामन्त्री बनाउनुभएको थियो । नेपाली कांग्रेस केवल राजनीतिक आन्दोलन थिएन, युगान्तकारी सामाजिक आन्दोलन पनि थियो । तर, पानीपँधेरामा किन अझै पनि दलित कुटिइरहेका छन् ? पार्टीले यो अमानवीयताको ठोस प्रतिकार कसरी गर्छ ? अन्तर्जातीय विवाह गरेकै कारण दानवीय अत्याचार भोगेका प्रेमजोडीका आक्रोशका अगाडि उभिएर दिने जवाफ मेरो संकल्पको कांग्रेससँग हुनेछ । पँधेरोमै, होटलमै समेत भेदभाव व्यहोरिरहेका दलित समुदायका लागि मौनता होइन, जवाफ हुनेछ । सीमान्तकृत वर्ग र वर्णको संघर्षमा ऐक्यबद्धता मात्र होइन, सहभागिता हुनेछ । मेरो संकल्पको कांग्रेस सामाजिक न्यायको लडाइँमा दर्शक होइन, नेतृत्व हुनेछ । 

निजी अस्पतालको खर्च तिर्न नसकेर गरिबले अग्ला अस्पतालबाट हाम फालेर आत्महत्या गर्नुपर्ने विडम्बनापूर्ण अवस्था कांग्रेसले दोहोरिन दिनेछैन । शिक्षा र स्वास्थ्य अनिवार्य रूपमा निःशुल्क हुनेछ । कांग्रेसले नै जनस्वास्थ्यको अभियान चलाउनेछ । लैंगिक हिंसामा कांग्रेस दर्शक हुनेछैन, आधा आकाश ढाकेका महिलाका आर्थिक, सामाजिक र राजनीतिक प्रतिनिधित्वका लागि देशव्यापी अभियान सुरु हुनेछ । विकास केवल भौतिक परिभाषामा सीमित हुनेछैन, हाम्रो समाज र समुदाय, मानवीय मूल्य र मान्यताका आत्मगत पक्षको विकासलाई पनि प्रमुख अजेन्डाका रूपमा समाहित गरिनेछ । मानव–प्रकृति, मानव र अन्य जीवबीचको सह–अस्तित्व, पर्यावरणको संरक्षणजस्ता आजका चुनौतीलाई आत्मसात् गर्दै कांग्रेसले पर्यावरणमैत्रीे योजना र कार्यक्रमहरू तयार गर्नेछ । कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइको योगदान गर्ने, कृषि धानेका किसान मल नपाएर छटपटिनुपर्ने स्थिति छ । कृषिले महत्वपूर्ण योगदान पुर्याइरहेको देशभित्रै छटपटाइरहेका घाइते किसानलाई हात समातेर उठाउने एजेन्डा कांग्रेससँग हुनेछ । ‘एक घर, एक रोजगार’ अब कांग्रेसको नारा मात्र होइन, कार्यक्रम हुनेछ ।

मेरो संकल्पको कांग्रेसमा राजनीति पेसा होइन, दायित्व हुनेछ । पार्टीमा हरेक कार्यकर्ताका लागि क्षमताअनुसार भूमिका हुनेछ । पार्टीले कहिल्यै विधिको घेरा नाघ्नेछैन, न त्यसले पद्धतिको उल्लंघन गर्नेछ । कुनै पनि नेता मालिक होइन, सेवक बन्नेछ । त्यो अहंकारी होइन, विनम्र, आवेगी होइन, विवेकी हुनेछ । नियमित प्रशिक्षण अनि आन्तरिक पार्टी सञ्चालनमा लोकतान्त्रिक विधि र प्रक्रियाको अनिवार्यतामा पार्टीले जोड दिनेछ । राजनीतिका केन्द्रीय विषय व्यक्तिकेन्द्रित नभएर विचार, सिद्धान्त, विधि र विधानकेन्द्रित हुनेछन् । 
निष्ठाको चौतर्फी खडेरी परिरहेको समय इमानको अदालतमा सतिसालझैँ उभिन सक्ने निष्ठावान् नेताहरूको विशाल पंक्ति कांग्रेससँग हुनेछ । पाँच वर्षमा आउने एउटा चुनावमा लोकतन्त्रका लागि भन्दै भोट माग्ने कार्यकर्ता होइन, गाउँका चोक, चौतारामा उभिएर यो युगमा मानवजातिले सामना गरिरहेका गम्भीर चुनौतीमाथि चिन्तन गर्न सक्ने ऊर्जावान् युवा अभियन्ताहरूको विशाल डफ्फा हाम्रो पार्टीसँग हुनेछ । सानो झोला पिठ्युँमा बोकेर पञ्चायती कालरात्रिसँग जुध्ने कांग्रेस नेताहरू मध्यराति जनताका मझेरीमा ढिँडो खाएर संगठन बनाउँथे । अब देश, पार्टी र प्रजातन्त्रप्रति त्यतिकै निष्ठा तथा आस्था भएका अविचलित सदस्यहरूको त्यस्तै पंक्ति कांग्रेससँग हुनेछ, जो अभाव, बेथिति, विकृति र विसंगतिसँग लड्नेछ र समुन्नत नेपालका लागि स्वयंसेवक भएर खटिनेछ ।

विद्यार्थीले केवल स्कुल कलेजको राजनीति गर्नेछैनन्, एक–अर्कालाई पढ्न सिकाउनेछन् । कलेजका स्वयंसेवक विद्यार्थीले स्कुलका विद्यार्थीको ज्ञानको स्तर बढाउनेछन् । पार्टीले तिनलाई योजनाबद्ध हिसाबले सहयोग गर्नेछ । डाक्टर वा इन्जिनियर, पार्टीले तिनलाई निश्चित समय स्वयंसेवकका लागि तयार गर्नेछ । मेरो संकल्पको कांग्रेस केवल पार्टी हुनेछैन, राष्ट्रवादी आन्दोलन हुनेछ । पार्टीका हरेक समर्थक र शुभेच्छुक त्यो आन्दोलनका सहयात्री हुनेछन् । 

कोरोना महाव्याधिले विश्वको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक तथा सामरिक शक्ति सन्तुलनलाई फेरबदल गर्दै छ । कोरोनाकै कारण सिर्जित व्यापक उथलपुथलबाट हामी गुज्रिँदै छौँ । मेरो संकल्पको कांग्रेसले संघारमा आइरहेको यो उथलपुथलको व्याख्या मात्र गर्नेछैन, संकटहरूको सामना गर्ने वैचारिकी पनि प्रस्तुत गर्नेछ । आज नेपालीे जताततै आक्रोशको पोको मनमा राखेर हिँडिरहेको छ । र, उसको आक्रोशको ज्वालामा सामाजिक सञ्जाल भनिने विशाल जञ्जालले ऊर्जा थपिरहेका छन् । मेरो संकल्पको कांग्रेस यो आक्रोशसँग भाग्नेछैन, जवाफ खोज्नेछ र जवाफ दिनेछ । 

सन् १९९० को सेरोफेरोमा लोकतन्त्रको ‘तेस्रो लहर’का क्रममा लोकतन्त्र स्थापित मुलुकहरूमा लोकतान्त्रिक संक्रमण धेरै समय लम्बिएकाले पनि लोकतन्त्रको भविष्य र क्षमतामाथि प्रश्न उठाउन थालिएका छन् । नेपालमा समेत दक्षिणपन्थी र उग्रवामपन्थी अधिनायकवादका पक्षधरले लामो संक्रमणलाई देखाउँदै लोकतान्त्रिक प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएका मात्र छैनन्, यस्तो प्रणालीलाई बदनाम गर्न भरपूर प्रयाससमेत गरेका छन् । भर्खरै मात्र लोकतन्त्रलाई नै मास्न उद्यत् कम्युनिस्ट सरकारको स्वेच्छाचारिता, निरंकुशता र अधिनायकवादउन्मुख राजनीति कांग्रेसकै नेतृत्वमा पराजित भएको छ । मेरो संकल्पको कांग्रेसले भविष्यमा यस्ता तानाशाह जन्मिनु त परको कुरा, सोच्नसम्म नसक्ने ठाउँमा राजनीतिलाई लैजानेछ । 

र, मेरो संकल्पको कांग्रेस कसैको बैसाखीविना देशको नेतृत्व गर्ने ठाउँमा हुनेछ । यो केवल पहिलो पार्टी हुनेछैन, बहुमत नेपालीको प्रतिनिधित्व गर्ने र सबै नेपालीले आशाले हेरेको पार्टी हुनेछ । (नेपाली कांग्रेसका युवानेता पौडेल चौधौँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन्)
 

सुझावित समाचार