पार्टी र सरकारमा एउटै नेतृत्व आवश्यक : देउवा

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताएका छन्। उनले सरकार र पार्टीमा एउटै नेतृत्व हुनुपर्नेमा जोड दिए। उनले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गरे। महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदै छ।     

देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुन सक्ने आशंकासमेत व्यक्त गरे। ‘यहाँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन्। यो सरकार चुनावसम्म नजान पनि सक्छ। मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो,’ देउवाले भने।     
     
उनले आफ्नो पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको स्मरण गरे। ‘सार्वभौम जनता कसैसँग डराउनुहुँदैन तर हिजो गाउँ–गाउँमा हाम्रा साथीहरू डराउनुपर्ने अवस्था ल्याइएको थियो। अहिले मैले ओलीको त्यो डर, त्रासबाट हाम्रा साथीहरूलाई मात्र नभएर देशलाई नै मुक्त गराएको छु। यस्तै अवस्था अब रहिरहनका लागि पनि मैले सभापति जित्नुपर्छ भन्ने प्रसंग मात्र निकालेको हुँ,’ उनले भने।     
     
उनले आफूलाई सहयोग गरेकामा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद पनि दिए। ‘सिटौलाजी उहाँ आफू पदाधिकारीमा नबसेरै, सदासयता राखेर हामीलाई सहयोग गर्नुभएको छ, म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु,’ देउवाले भने। 

सुझावित समाचार