मलाई जिताउनुभयो भने चुनावसम्म यो सरकार टिक्छ : देउवा (भिडियोसहित)

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।

आफूले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आउने भन्दै सरकार टिकाउन पनि सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए। केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने उनले बताए।

‘तपाईंहरूले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ। त्यसैले अहिलेको वेला यो कांग्रेस पार्टी जित्नु जरुरी छ। कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ। त्यसका लागि यो महाधिवेशन अत्याधिक महत्वपूर्ण छ,' देउवाले भने, 'अत्याधिक बहुमतले मलाई जिताउनुभयो भने अवश्य नै म सम्पूर्ण माग पूरा गर्नेछु। अर्को कुरा, म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ राष्ट्रिय चुनावसम्मका लागि। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ। पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ। त्यसैले अहिलेको वेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो विरोध होइन। तर, मेरो यो अन्तिम वेला हो। म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु। यदि म जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरूलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरूको सरकार बनाउन सक्नेछु।’

सुझावित समाचार