लमजुङको मर्स्याङ्दी गाउँपालिका– २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जिप दुर्घटनाका मृतकहरूको सनाखत भएको छ। मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी रहेकाे प्रहरीले जनाएको छ।
विद्यार्थीलाई घुमाउन भुस्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जिपमा सवार ९ जना घाइते भएका छन्।
दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुईजना घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। गणेश माविको कक्षा ७ र ८ का विद्यार्थी बोकेर दुईवटा जिप भुस्मे गाउँतर्फ लागेको थियो।