नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदवार छान्न बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित भएका छन्। बुधबार प्रकाशमान सिंहनिवास चाक्सिबारीमा बसेको बैठकमा पौडेलले सभापतिका आकांक्षी सिंह र शेखर कोइरालालाई कि मिल्न या आफूलाई छोड्न आग्रह गरेका थिए।
यदि सिंह र कोइराला नमिल्ने अनि आफूलाई पनि नछोड्ने हो भने राजनीतिबाट सन्यास लिन दिनुस् भन्दै आक्रोश पोखेका थिए। ‘कि तपाईंहरू मिल्नुस् कि मलाई छोड्नुस्,’ पौडेलको भनाइ उदृत गर्दै रामशरण महतले भने, ‘होइन भने मलाई राजनीतिबाट सन्यास लिन दिनुस्। राजनीति छोडेर घरमै आराम गरेर बस्छु।’
साझा उम्मेदवार छान्न बसेको बैठकमा सिंह र कोइरालाले सभापतिमा आफू नै लड्ने अडान राखेपछि पौडेल आक्रोशित भएका थिए। दुई नेता मिलेमा आफूले छोड्न सक्ने पौडेलले संकेत गरेका थिए। साझा उम्मेदवारमा टुंगो लाग्न नसकेपछि पौडल समूहको बैठक बिहीबार बिहान ८ बजे पुन: बस्दै छ।