प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशन तयारीबारे उपसमितिका संयोजकहरूसँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समितिअन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी तथा प्रगतिबारे देउवालाई जानकारी गराएका हुन् ।
बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति, खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमितिलगायतका उपसमितिहरूले अहिलेसम्मको कामबारे जानकारी गराए । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए ।
महाधिवेशनका लागि मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि शर्माले जानकारी दिए । उनले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने, मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र एक हजार मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।
आगामी २४ मंसिरको दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।