त्रिविका आधा दर्जन केन्द्रीय विभागमै दशभन्दा कम विद्यार्थी, केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

लगानीअनुसार प्रतिफल छैन, तैपनि आकर्षण बढाउने कार्यक्रम छैन

त्रिभुवन विश्वविद्यालयका आधा दर्जन केन्द्रीय विभागलाई नै विद्यार्थी पाउन कठिन हुने गरेको छ । यी विभागमा दशभन्दा कम विद्यार्थी छन् । कतिपयमा त प्राध्यापकभन्दा विद्यार्थीको संख्या थोरै छ । 

मानविकी तथा सामाजिकशास्त्र संकायको डिन कार्यालयले सन् २०२१ मा स्नातकोत्तर तह पहिलो सेमेस्टरमा भर्नाका लागि लिएको प्रवेश परीक्षामा हिन्दीमा दुई, संस्कृतमा पाँच, इतिहासमा सात र भाषाविज्ञानमा नौजना मात्रै सहभागी भएका छन् । फाइन आर्टस्अन्तर्गत तबेलामा पाँच तथा नृत्यअन्तर्गत काथक र भरत नृत्यम्मा ६–६ जनाले मात्रै प्रवेश परीक्षा दिएका छन् । जनसंख्या अध्ययन केन्द्रीय विभागमा पनि ११ जनाले प्रवेश परीक्षा दिएका छन् । भर्ना हुनेको संख्या अझै कम छ । 

पहिले कम भएका केही विषयमा बढे, केहीमा पहल हुँदै छ : शिवलाल भुसाल शिक्षाध्यक्ष, त्रिवि

केही वर्ष पहिले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका मानविकी तथा सामाजिकशास्त्र संकायका विषयमा अहिले संख्या बढेको छ । हिन्दीलगायत केही विषयमा अहिले पनि कम छ । कतिपय विषयमा राज्यले प्राथमिकता नदिँदा मास्टर्स डिग्रीपछि के गर्ने भन्नेमा अन्योल भएको देखिन्छ । त्यस्तै, कतिपय विषयमा विद्यार्थी आउने स्रोत नै देखिँदैन । स्नातकमा पढाइ नहुने, विद्यालय तहबाट पनि नआउने भएकाले समस्या छ । त्रिविले प्रमाणपत्र तह सञ्चालन गर्दा धेरै विषयमा विद्यार्थी आउँथे, अहिले त्यो स्रोत छैन । ब्रिजकोर्स राखेर पनि विद्यार्थी ल्याउने भन्ने छलफल भएको छ । विषय नराम्रा होइनन् । केन्द्रीय विभागहरूले पनि आफैँले पहल गरिरहेका छन् ।

दुई विद्यार्थी भर्ना भएको हिन्दी केन्द्रीय विभागमा चार स्थायी र तीन आंशिक गरी सातजना शिक्षक छन् । ‘हाम्रो विभागमा विद्यार्थी कम हुनुमा नीति र मानसिकताले असर गरेको छ,’ विभागीय प्रमुख सन्जिता बर्मा भन्छिन्, ‘हिन्दी भारतको भाषा हो भन्ने गलत सोचाइका कारण पनि विद्यार्थी कम भर्ना हुने गरेका छन् ।’ 

माथिल्ला सेमेस्टरमा पनि संख्या उस्तै छ । हिन्दीको एमफिल कार्यक्रमसमेत सञ्चालन छ । तर, त्यहाँ पनि दुईजना मात्रै विद्यार्थी छन् । विद्यालय तहदेखि नै हिन्दी भाषाका विद्यार्थी नभएकाले स्नातकोत्तरमा कम हुने गरेको बर्माको तर्क छ । 

पाँचजना विद्यार्थी भर्ना भएको संस्कृत केन्द्रीय विभागमा पनि चार स्थायी र एक आंशिक गरी पाँच शिक्षक छन् । विभाग प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम ११ जनाले प्रवेश परीक्षा दिएको दाबी गर्दै हालसम्म तीन विद्यार्थी मात्रै भर्ना भएको बताउँछन् । तर, डिन कार्यालयको सूचीमै पाँच विद्यार्थीले मात्रै प्रवेश परीक्षा दिएको उल्लेख छ । 

शिक्षक र कर्मचारीभन्दा विद्यार्थी कम हुँदा विश्वविद्यालय र विभागहरूले आकर्षण बढाउन सकेका छैनन् । जसकारण सम्बन्धित विषय प्रभावकारी बन्न सकेको छैन र प्रतिफलको तुलनामा निकै खर्चिलो भएको छ । 

हिन्दी विभाग प्रमुख बर्मा आकर्षक कार्यक्रम ल्याउन बजेट अभाव भएको बताउँछिन् । संस्कृत विभाग प्रमुख गौतम भने विद्यार्थीको आकर्षण बढाउन मिहिनेत गरिरहेको दाबी गर्छन् । 

सबैभन्दा आकर्षण सामाजशास्त्रमा, त्यसपछि अर्थशास्त्रमा
डिन कार्यालयका अनुसार स्नातकोत्तरको पहिलो सेमेस्टरमा केन्द्रीय विभाग तथा उपत्यकाभित्रका क्याम्पसमा गरी पाँच हजार आठ सय ६७ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । समाजशास्त्र अध्ययनका लागि सबैभन्दा धेरै एक हजार चार सय ५५ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । यो विषय पढ्न त्रिचन्द्र क्याम्पसमा दुई सय ३३ ले प्रवेश परीक्षा दिएकामा केन्द्रीय विभागमा ८५ जना सहभागी भए । 

विद्यार्थीका लागि दोस्रो आकर्षणको विषय अर्थशास्त्र बनेको छ । यो विषयका लागि एक हजार तीन सय ८३ ले प्रवेश परीक्षा दिएका छन् । सबैभन्दा बढी रत्नराज्यलक्ष्मी क्याम्पसमा पाँच सय ६६ ले प्रवेश परीक्षा दिएका छन् । केन्द्रीय विभागमा दुई सय ३७ जना सहभागी भएको डिन कार्यालयले जनाएको छ । बुद्धिस्ट, भूगोल र राजनीतिशास्त्रमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यी विषय रोज्ने विद्यार्थी संख्या बर्सेनि बढ्दै गएको छ । 

See More On

सुझावित समाचार