शनिबार सात सय ५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले शनिबार सात सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल सात सय ७६ वटा पालिकास्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। शनिबार १ बजे अध्यक्ष प्रचण्डले  सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन्। 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ। यी मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ। 

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ। पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ। सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ।

 माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ। माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिनाअगाडि नै गठन भएका थिए।

See More On

सुझावित समाचार