दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकास कार्यक्रम ल्याउन माग गरेका छन्। नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारहरूले अब आमसञ्चारमाध्यमहरूले चार हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथाव्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औँल्याए। उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथाव्यथा सञ्चारमाध्यमसम्म पुर्याउनै नसकिने भन्दै त्यस्तो माग गरेका हुन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे। ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथाहरू बाहिर ल्याइनुपर्छ। तपाईंहरूको कलमले दलितका त्यस्ता कथाव्यथालाई सार्वजनिक गर्नुपर्छ।’
अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानुनले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरू एकजुट भएर अघि बढ्न आग्रह गरिन्। उनले पछिल्लो समय राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भए पनि दलित समुदायको मुक्तिको मुद्दा भने त्यसरी उठ्न नसकेको बताइन्।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिबद्ध भएको बताए।
महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासँगको अन्तरक्रियामार्फत अघि बढ्ने बताए।
महासंघका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझै पनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए।
कार्यक्रममा बोल्दै पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङी रहेको बताए। उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रूपमा नलिने गरेको भन्दै सञ्चारमाध्यमको चरित्र पनि त्यस्तै रहेको बताए।
लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चारमाध्यमभित्रै विभेद खेपिरहेकाे बताए। ‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ। दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उनले भने।
महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासंघले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरूको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको धारणा राखे।
क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्रसमेत पत्रकारहरूले जातीय विभेद सहनुपर्ने बाध्यता रहेको बताइन्। ‘समाज जस्तो छ, त्यसको चित्र मिडियामा छ, मिडिया समाजभन्दा अलग्गै छैन,’ उनले भनिन्, ‘हिंसा र विभेदको स्वरूप फरक हुन सक्छ। पत्रकार आफैँ विभेद खेपेर कसरी समुदायको मुक्तिको विषय उठाउन सक्छ?’
जागरण मिडिया सेन्टररका महासचिव भीम घिमिरेले दलित समुदायको मुद्दालाई सञ्चारमाध्यमले साझा मुद्दाका रूपमा अघि बढाउन नसकेका बताए।