बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दसैँको मुख्य दिन आज मान्यजनबाट रातो टीका, जमरा तथा आशीर्वाद ग्रहण गरी पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १०:२६ बजेको समय उत्तम साइत रहेको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार राज्य सञ्चालकहरूले भने शुभसाइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ। शुभसाइतमा टीका लगाउँदा शक्ति, उत्साह र शुभफल प्राप्त हुने धार्मिक विश्वासका आधारमा साइत निर्धारण गरिएको हो।

घटस्थापनाका दिन स्थापना गरी नौ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएका देवीदेवताको प्रसादका रूपमा आज मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ। समितिले घटस्थापनाका दिन स्थापना गरिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जनका लागि आज बिहान ८:४९ बजेको साइत निर्धारण गरेको छ।

टीका लगाउँदा दिशा मिलाउनुपर्ने
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने व्यक्तिले पश्चिम फर्कनुपर्ने र टीका लगाइदिने व्यक्तिले पूर्व फर्कनुपर्ने धार्मिक मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्नु शुभ मानिने भएकाले यस्तो दिशा निर्धारण गरिएको उनले बताएका छन्।

विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। घटस्थापनाका दिन वैदिक विधिअनुसार राखिएको पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिइन्छ। टीका लगाउनुअघि पूर्ण कलशको जलबाट अभिषेक गर्ने परम्परा पनि रहेको छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपाली समाजको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। आजको दिन परिवारका सदस्य तथा आफन्तजन एकत्रित भई टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्दै दसैँको खुसी साटासाट गर्छन्।

आज टीका लगाउन नभ्याउनेहरूले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्ने धार्मिक परम्परा रहेको छ।

सुझावित समाचार