विजयादशमीमा प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन आह्वान

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गरेका छन्। उनले यस पर्वले समाजमा सकारात्मक सोच, सदभाव र सत्कर्मको भावना विकास गर्न प्रेरणा दिने बताएका छन्।

पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंग स्मरण गर्दै उनले विजयादशमीको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरेका छन्। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा लाग्न प्रेरित गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने नेपाली परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयता थप प्रगाढ बनाउने उल्लेख गरेका छन्।

उनले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्। साथै, समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले प्रत्येक नागरिकले सरकार आफ्ना लागि रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै विकृति र विसंगति हटाउन सामूहिक प्रयासको आह्वान गरेका छन्।

उनले भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिलाई अन्त्य गर्न इमानदार प्रयास, दृढ अठोट र सामूहिक मिहिनेत आवश्यक रहेको बताएका छन्। परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत सुधार ल्याउनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार विजयादशमीले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताले भरिएको नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्छ। साथै, वर्षौँदेखि टाढिएका आफन्तसँग भेटघाट गरी सुखदुःख साटासाट गर्ने अवसरसमेत प्रदान गर्छ।

उनले विजयादशमीको अवसरमा आपसी सदभाव, एकता र सहकार्यलाई बलियो बनाउँदै विकृतिमुक्त तथा समुन्नत समाज निर्माणमा जुट्न सबै नेपालीलाई आह्वान गरेका छन्।

सुझावित समाचार