नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो संख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रस्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिनेछ । माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिनेछ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबिसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।
भरतपुर महानगरपालिका– १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलकाे भनाइ छ । कालिका नगरपालिका र भरतपुर महानगरपालिका– ११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।
जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ । उनीहरूलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो । नेकपा एमालेको १०औँ महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटेल सेभेन स्टार परिसरमा हुनेछ । एमालेको १०औँ महाधिवेशनले दुई सय २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट एक हजार नाै सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । उनीहरू बस्नका लागि सौराहास्थित क्षेत्रीय होटेल संघसँग तीन हजार पाँच सयजना अट्ने कोठा सम्झौता गरिएको छ । सौराहामा ६ हजार पाँच सयजना अट्ने क्षमता छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको संघले जनाएको छ । प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ । रासस
एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस
सुझावित समाचार
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…
चाडपर्वमा उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं/ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले चाडपर्वलाई सुरक्षित बनाउन उच्च सतर्कताका साथ काम गर्न सशस्त्र प्रहरी कर्…