देशभर थप तीन सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई सय ९१ र एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा आठ हजार आठजनाको पिसिआर परीक्षण र एक हजार पाँच सय ९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर सात हजार दुई सय १५ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार तीन सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ७७ पुगेको छ ।