बेनी नगरपालिका– ५ मा भएको सामूहिक बलात्कारको घटनामा संलग्न तीनजना आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलनमार्फत आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो।
कात्तिक २ गते (मंगलबार) राति भएको घटनाका पीडित महिलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। बेनी नगरपालिका– ५ पुलाचौर बस्ने वर्ष २२ का प्रकाश रामदाम, १८ वर्षका प्रवेश रामदाम र वर्ष २४ का हिटमेन बानियाँलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको राईले बताए।
प्रतिवादीहरूले पीडितको घरको झ्यालमा लात्ताले हानी चुक्कुल फुकालेर भित्र प्रवेश गरी सामूहिक रूपमा जबर्जस्ती करणी गरी सोही रात फरार भएको प्रहरीको भनाइ छ। एकजना रुपन्देही र दुईजनालाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ राईले बताए।