असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क भएको छ । केही किसानहरूले काटिसकेका छन् भने केहीलाई धान काट्ने चटारो परेको छ । तिहारको वेला किसानलाई भने बिहानैदेखि धान काट्ने र भित्र्याउने चटारोले छोएको छ ।
मौसमले साथ नदिए पनि अहिले किसानहरूलाई धान काट्ने चटोरो छ । केही दिनअघिको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति गरेको छ ।
यस वर्ष असारमा वर्षा राम्रै भएका कारण समयमा नै धान रोप्न भ्याएका किसानले राम्रो उत्पादन हुने आशा गरेका थिए । तर, बेमौसमी वर्षाका कारण सोचेअनुसार धान भित्र्याउन पाएनन् । केही ठाउँको धानबालीमा क्षति पु¥याएको किसान बताउँछन् ।
‘काट्ने वेलाको धान ढल्यो । तर, धेरै नोक्सानी भने हुन पाएको छैन’ बाग्लुङ नगरपालिका–१३ पैयुँपाटाकी किसान यशोदा शर्माले भनिन्, ‘बेमौसमी वर्षाले ठूलो क्षति पु¥याउँछ कि भन्ने चिन्ता थियो । धन्न हावाले ढलाएको धान पनि केही समयपछि उठ्यो, धेरै क्षति हुन पाएन । १० प्रतिशत धानमा असर भएको होला, नत्र राम्रै भएको छ ।’
उनले अहिले गाउँघरमा किसानहरू धान भित्र्याउने चटारोमा रहेको बताइन् । ‘पहिले पहिलेजस्तो खेतला पनि पाउन छाड्यो,’ शर्माले थपिन्, ‘मौसमको भर हुँदैन अहिले हतार छ ।’
जिल्लाको ग्रामीण भेगमा मुख्य तह गुढुरा, गौरिया, जेठोबुढो कालनाथ्रे, लुम्ले, माछापुच्छे र राधकमल जातका धान रोप्दै आएको पाईन्छ । यसका अवला किसानले स्थानीय जातका धानहरू पनि लगाउने गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाग्लुङको तथ्यांकअनुसार जिल्लामा हालसम्म १२ प्रतिशत धान भित्र्याएको र ३० प्रतिशत धान किसानहरूले कटानी गरिसकेका छन् । जिल्लामा कुल ५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष केही मात्रामा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अपेक्षा गरिएअनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
‘गत वर्षभन्दा यस वर्ष असारयता मौसमले साथ दिएको थियो । उत्पादन राम्रो हुने अनुमान गरिएको थियो ।’ भट्टराईले भने, ‘काट्ने वेला हुँदा बेमौसमी हावा हुरी र पानी आयो, धान ढल्यो झन्डै १५ प्रतिशत वृद्धि हुने अनुमान गरिए पनि वर्षा कारण त्यो हुन सकेन ।’
उनले हावाहुरीका कारण जिल्लामा ७० प्रतिशत धान ढले पनि पछि पुनः उठेको र १० प्रतिशत अर्थात ४ सय ६० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको बताए । भट्टराईले किसानहरूले धानबाली काटिनसकेका कारण ठूलो क्षति हुनबाट बचेको जानकारी दिए ।
पछिल्ला दिनहरूमा जिल्लाको गलकोट क्षेत्रमा २५ प्रतिशत, ग्वालीचौर क्षेत्रमा २५ प्रतिशत र बलेवा क्षेत्रमा २५ प्रतिशत धान किसानहरूले भकारीमा भित्र्याइसकेका छन् । त्यसैगरी जैमिनी क्षेत्रमा भने भर्खर सुरु भएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
अघिल्लो वर्ष जिल्लामा यस वर्षभन्दा ५० हेक्टर कम क्षेत्रफलमा धान खेती गरिएको र १८ हजार ६ सय ९० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष झन्डै १५ प्रतिशतले बढ्ने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अनुमान गरे जति उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।