नेपाली कांग्रेसको चौधौँ महाधिवेशन हुने तिथि हालै सातौँपटक हेरफेर भयो । स्वाभिमानी पार्टीका लागि लज्जास्पद हुने, तर बेइमान नेतृत्वको निर्लज्ज आचरण, महाधिवेशनको मिति टुंगो नहुनुमा झल्किँदै छ । प्रतिपक्षी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भाषणमै औँल्याइसके, ‘कांग्रेस आफ्नो महाधिवेशन पनि गर्न नसक्ने हालतमा पुगिसक्यो....।’ यस्तो सुन्नुपर्दा कांग्रेसका नेताहरू लज्जित हुनुपर्ने हो । महाधिवेशनले लिने नीतिगत बाटो, कार्यक्रम र रणनीतिलाई गति दिन नेतृत्वको आवश्यकता पर्छ । तर, कांग्रेस, नयाँ नीतिगत मार्गदर्शन, जनताका लागि उत्साहजनक सन्देश र नयाँ नेतृत्व जन्माउने प्रसव वेदनामा छैन । सिकारमा वन्यजन्तुमाझ बेथितिको लुछाचुँडीजस्तै लाग्ने, नेताहरूबाट पार्टी हत्याउने र आफू सर्वेसर्वा हुने दाउपेच र स्वार्थी छटपटीमा मात्र कांग्रेस केन्द्रित देखिन्छ ।
नारा होइन निष्ठा, विकल्प होइन संकल्प, आश्वासन होइन कटिबद्धता, बासी विचार होइन नवीन मार्गदर्शन, छिपछिपे ज्ञान र टालटुले समाधान होइन, निःस्वार्थ मार्गचित्रसाथ अहिलेको रुग्ण अवस्थाबाट कांग्रेसलाई सशक्तताको काँचुली फेराउन जीवन्त र दूरदर्शी नेतृत्वको खोजी भइरहेको छ । तर, आजको कांग्रेस यसका नेताहरूबाटै नीति, नैतिकता र वैचारिक रूपले मरणासन्न स्थितिमा पुगेको छ । कांग्रेसको यो कन्तबिजोग अवस्थाका लागि सभापति शेरबहादुर देउवाको नायकत्व जिम्मेवार छ ।
युगान्तकारी परिवर्तनको नेतृत्व गर्दै आएको लोकतान्त्रिक पार्टी, ऐतिहासिक राष्ट्रिय शक्तिको मियो, जनविश्वास र भरोसाकेन्द्र मानिएको कांग्रेस यसकै नेताहरूको नैतिकहीन, अनुशासनहीन र छाडा व्यवहारका कारण प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । खासगरी, ०६३ यता कांग्रेसको आचरण, पहिचान र भूमिका युगसापेक्ष चिन्तन, रणनीति र नेतृत्वभन्दा पनि कम्युनिस्टको सहायक वा उसको बैसाखीको निगाह वा सहारामा टिकेजस्तो देखिन्छ । कांग्रेस र कम्युनिस्टबीच कुनै अन्तर छैन, उस्तै हुन् भन्ने खालको भ्रम जनतामा व्याप्त छ । पार्टीका केन्द्रीय विभागहरू, भ्रातृसंस्थाहरू, जिल्ला र स्थानीय स्तरमा विधिविहीन नियुक्ति, सक्रिय सदस्यताको मनपरी वितरण भइरहेको छ । अर्कातिर, सत्ता नेतृत्वको भूमिकामा पार्टी अकर्मण्य देखिएको छ ।
पार्टी बुद्धि–विवेक, सिद्धान्त, नैतिकता, साख र जनविश्वासले चल्ने हो । फगत अनुहारले होइन, पुस्तान्तरको समावेशिताले नै पार्टीले पूर्णता प्राप्त गर्न सक्छ । कांग्रेसको समस्या नेतृत्वमा उमेरको हिसाब होइन, वैचारिक जागरुकता र न्यायोचित व्यवहार–कुशलताको हो । पार्टीभित्रको प्रतिपक्ष : आजको कांग्रेसको सबभन्दा ठूलो समस्या विचारविहीन स्वार्थका गुटबन्दी र झुन्डवादी हर्कत हो । वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति बन्न जम्जमाइरहनुभएको छ । तर, सभापति देउवाविरुद्धको समूहलाई समेट्न सक्ने सामथ्र्य उहाँमा देखिन्न । आफ्नै पक्षलाई पनि समेट्न नसक्ने नेताले सिंगो पार्टीलाई कसरी समेट्ने नेतृत्व दिनुहुन्छ ? देउवा सानो भागबन्डामा हातखुट्टा छोडिदिने प्रवृत्ति देखाउनुहुन्छ । परालका खुट्टा टेकेर वा भागबन्डाको नाममा देउवाले निगाहपूर्वक दिएको सानो अंश खाएको संकीर्ण मनोवृत्तिले विशाल पार्टीको नेतृत्व चल्दैन । यो कुरा उहाँले बुझ्न नसकेको होइन, बुझ पचाएको हो भन्ने लाग्छ ।
नेतृत्वको नीतिगत अस्पष्टता र दुर्बलता, चरम स्वार्थ, गुटगत कार्यशैली र अलोकतान्त्रिक आचरण नै शृंखलाबद्ध कमजोरी र दोष हुन् । महाधिवेशनको चटारोमा पार्टीभित्र सभापति, उपसभापति, महामन्त्रीजस्ता महत्वपूर्ण पदाधिकारी बन्ने आकांक्षीहरू बर्खे–च्याउ उम्रेजत्तिकै छन् । तर, पार्टीलाई परिवर्तनउन्मुख, सुसंगठित र जागरुक बनाएर आफ्नो कार्यकालमा कहाँ पुर्याउने भन्ने एजेन्डा, योजना, संकल्प र लक्ष्यको ब्लुप्रिन्टसहित प्रस्तुत हुने कुरा कसैबाट देखिँदैन, सर्वत्र सन्नाटा छ ।
महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह आदिको वंशजवादी प्रयास बेग्लै छ । कृष्ण सिटौलाको रहस्यमयी सानो गुट पनि चलखेलमा छ । महान् नेताका सुपुत्र हुन सकिन्छ । तर, नेतृत्वको खुबी र सामथ्र्य आफैँले विकसित गर्नुपर्छ । नेतृत्व दिने क्षमता, मार्गदर्शक विचार, संगठनकला, कार्यकर्तासँग हेलमेल, व्यावहारिक राजनीतिका रणनीतिक कौशल हुनु अनिवार्य हुन्छ । पार्टी सभापतिका प्रत्याशी हुने नेताको अनुहार नै आठभन्दा बढी भइसके । तर, यी आठ महानुभावले पार्टीको वर्तमान र भविष्यबारे आठ लाइनको विचार बाँडेर आफ्नो पदीय आकांक्षा घोषणा गरेको पाइएन ।
गृहजिल्लामै जनाधार र पार्टी संगठन आफूअनुकूल नभएपछि क्रियाशील सदस्यता वितरणमै चरम धाँधली गर्नुपर्ने अवस्थामा पुगेका सभापति देउवाका लागि उनका ‘च्यालेन्जर’हरू भने अनुकूल बनिदिँदै छन्
च्यालेन्जर पक्षले सभापति देउवाविरुद्ध प्यानल बनाएर संगठित उम्मेदवारी दिने हो भने देउवा सभापति निर्वाचित हुने सम्भावना लगभग समाप्त भएको देखिन्छ । तर, यी आठजना च्यालेन्जरले आफ्नो हठ नछोडी देउवाका पार्टी विधानविपरीत हर्कतको रुन्चे विरोध गरिटोपल्ने, तर प्यानल नबनाई आफैँ मपाईं भएर उम्मेदवार हुने हो भने यी सबै पराजित हुँदै देउवाको चुनावी सहजकर्ता र सहयोगी मात्र ठहर्छन्, जो जनबोलीमा ‘डाडुमा डुब्नुपर्ने’ दुरवस्था हो । आफ्नो पुख्र्यौली जिल्ला डडेलधुरामै आफूले नेतृत्व गरेको पार्टीका लागि जनाधार र कांग्रेस संगठन आफ्नो अनुकूल नभएर त्यहाँका लोकप्रिय कांग्रेस नेता कर्ण मल्लको पक्षमा एकत्रित भएको वर्तमान अवस्थामा क्रियाशील सदस्यता वितरणमै चरम धाँधली गर्नुपर्ने अवस्थामा पुगेका देउवाका लागि यी च्यालेन्जरहरू भने अनुकूल बनिदिँदै छन् । उनीहरूको गैरजिम्मेवारीबाट देउवा भाग्यमानी भएर फाइदा उठाउने हुनाले पार्टी सभापतिमा अहिले नै देउवालाई विजयमाला पहिराइदिए हुन्छ । देउवाले फेरि पार्टी सभापति जित्नुको अर्थ हो, सत्ता र कांग्रेस दुवैतिर उनको एकछत्र मनपरी । त्यसपछि पार्टी तस्कर, कालोधनका नाइके, आर्थिक अपराधी र भ्रष्टको अखडा हुने अवश्यम्भावी छ । देउवाविरुद्ध एकजुट भई उम्मेदवारी दिन नचाहेर आ–आफैँ लड्नेहरूले त्यो अवस्था निम्त्याउने हो भने बरु कमण्डलु बोकेर काशीतिर लाग्नु कल्याणदायी हुनेछ ।
कोरा नारा र निरपेक्ष जपनाले लोकतन्त्रवादी बनिँदैन, लोकतन्त्र जनताको स्वामित्व र चाहनामा चल्नुपर्छ । सिद्धान्तहीन संकीर्ण गुटबाट उठेको नेतृत्वबाट पार्टी, समर्थक, समाज र राष्ट्रले भरोसा गर्न सक्दैनन् । सिद्धान्त र नैतिकता बिर्सेको पार्टी विचारहीन र स्वार्थीहरूको झुन्ड मात्र हुन्छ । गुटबन्दी र विगतमा ६० र ४० को भागबन्डाले कांग्रेसलाई थप स्खलित र बदनाम गरायो । तैपनि, भागबन्डे मनोवृत्तिमा सुधार देखिएन । सभापति देउवाले पद ओगटिरहन मुख बुजो लगाउने रणनीति यही हो ।
नेतृत्वको अभिभारा : अबको नेतृत्वले गुटबाजी र भागबन्डाको अन्त्य गर्दै योग्यताको कदर गर्ने (मेरिटोक्रेसी)को परम्परा बसाउनैपर्छ । नत्र कार्यक्षेत्रमा मरिमेटेर काम गर्ने पराक्रमी कार्यकर्ता सधैँ उपेक्षा र अन्यायमा पिल्सिरहने, परिक्रमा गर्ने चाकरीकर्ताले हालिमुहाली गर्ने विकृतिको कहिल्यै अन्त्य हुँदैन । काम गर्नेभन्दा कुरा गर्ने ठीक, कुरा गर्नेभन्दा कुरा लगाउने (मन्थरावृत्ति) झन् ठीक ठान्ने विकृति नै आज कांग्रेस संकटको मूल जड हो । समाजको आख्यान नै छ, ‘सय भारी खर काट्नेभन्दा सय भारी खर पोल्ने प्रिय हुने ठाउँमा न्याय पनि पोलिएको हुन्छ ।’
आज राज्यले आफ्नो गरिमा र लोकतान्त्रिक छवि नराम्रोसँग गुमाएको छ, असफल राज्यको खतरा अझ बढ्दै छ । स्वतन्त्र न्यायपालिका, संवैधानिक अंग, कर्मचारी संयन्त्र, प्रेस स्वतन्त्रता, नागरिकको शान्ति सुरक्षाको नैसर्गिक हकमाथि निरन्तर चुनौती छ । अधिनायकवादी नियत र गतिविधिले लोकतान्त्रिक पद्धति चल्दैन, चलेन । सुशासन र पारदर्शिताको पहिलो पाठशाला नै पार्टी हो । दण्डहीनता र भ्रष्टाचारविरुद्ध निर्णायक अभियानको उत्साह र उत्प्रेरणा अबको कांग्रेस नेतृत्वको प्रतिबद्धता हुनुपर्छ र देशव्यापी अभियान चलाउने प्रमुख एजेन्डा हुुनुपर्छ । हावादारी गफ, आडम्बरी र नाटकी भाषा होइन, निष्ठापूर्ण क्रियाशीलता आवश्यक छ । जनताले कांग्रेसलाई व्यवहारको कसीबाटै प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा देख्न चाहेका छन् ।
पार्टीको विधान प्रत्येक कार्यकर्ताको मार्गदर्शन र अनिवार्य संहिता हो । यसको उपेक्षा र उल्लंघन गर्ने कसैलाई पनि क्षमा हुनुहुँदैन । अनुहार, गुटगत घेरा, स्वार्थ, व्यक्ति र विरासतभन्दा माथि उठेर वैचारिक प्रतिबद्धतायुक्त नेतृत्वको खोजी कांग्रेसको आवश्यकता हो । यसका लागि दृढ विचार, संयोजन क्षमतायुक्त नेतृत्वको छनोट कुन गुटको भन्दा पनि निःस्वार्थ संकल्पसाथ हुनुपर्छ । नत्र, सबैका निम्ति कठोर भएर आउने नियतिको बज्रपात, कांग्रेसका निम्ति पुष्पवृष्टि हुने अपेक्षा, मूर्खता मात्र पुष्टि हुनेछ ।
Email : [email protected]