नगरपालिकाले घर भत्काएको सुकुमबासी बस्तीमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

दमक नगरपालिकाले घर भत्काएर आठ महिनादेखि त्रिपालमुनि बसेको सुकुमबासी बस्तीमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का पुगेका छन् । दमक–७ स्थित पञ्चमुखी टोलमा त्रिपालमुनि बसेका सुकुम्बासीको अवस्था बुझ्न आयोग उपाध्यक्ष खड्का शनिबार साँझ पुगेका हुन् । 

गत चैत अन्तिममा दमक नगरपालिकाले आफ्नो नाममा जग्गा भएको भन्दै सुकुमबासीको सातवटा घर भत्काएको थियो । विनाकुनै विकल्प नगरपालिकाले घर भत्काएपछि आठ महिनादेखि सुकुमबासीहरू त्रिपालमुनि छन् । बस्तीमा पुगेका उपाध्यक्ष खड्काले सुकुमबासीको समस्या समाधान गर्ने बताए । 

उनले नगरपालिकाले घर भत्काएर गल्ती गरेको पनि दाबी गरे । ‘सुकुमबासीले लामो समयदेखि जहाँ बसोबास गर्दै आएका हुन् त्यहीँ बस्न पाउनुपर्छ । यदि त्यो ठाउँमा सरकारले विकास निर्माणका काम गर्ने हो भने अन्य उचित ठाउँमा विकल्प दिनुपर्छ,’ उनले भने, ‘त्यो सबै हिसाबले सुरक्षित हुनुपर्छ । रोजगारीको ग्यारेन्टी हुने ठाउँ हुनुपर्छ । यसरी विकल्पविना घरमा डोजर लगाउन पाउँदैन ।’ 

दमक नगरपालिकाले भने एकीकृत नमुना बस्तीमा राख्न सुकुमबासीलाई विकल्प दिइँदै आएको जनाएको छ । तर, नमुना बस्तीमा राखिनु विकल्प नभएको उपाध्यक्ष खड्काको भनाइ थियो । ‘सुकुमबासीलाई एकीकृत बस्तीमा लैजाने हो भने भूमिको स्वामित्व दिनुपर्छ । निजी भूमिको स्वामित्व भयो भने मात्र उनीहरू जान सक्छन् ।

धनीलाई भूमिको निजी स्वामित्व र गरिबलाई सरकारी गर्न पाइँदैन । यो अन्याय हुन्छ,’ उनले भने, ‘कि त सबै भूमिको अधिकार राज्यको हुनुपर्छ, होइन भने गरिबलाई एउटा धनीलाई अर्कै गर्नु हुँदैन । सुकुमबासीलाई निजी स्वामित्वसहितको विकल्प दिइनुपर्छ ।’ सरकारी डोजर कहिले आउँछ र घर भत्काउँछ भन्ने सुकुमबासीको त्रास अन्त्य गरिनुपर्ने उनले बताए । ‘यहाँबाट जग्गाको स्वामित्व नदिई अर्को ठाउँमा लगियो भने पनि कतिवेला डोजर आउला र भत्काउला भन्ने त्रास त रहन्छ नै,’ उपाध्यक्ष खड्काले भने, ‘एउटा मेयरले राखेको अर्को आएर लखेट्न सक्छ । त्यसकारण जग्गाको स्वामित्व चाहिन्छ ।’ 

पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगरमा सुकुमबासीको उठिवास हुनु दुखद् भएको उनले बताए । खड्काले ओली सुकुमबासीप्रति उदार नभएको र अघिल्लो आयोगले पनि काम गर्न नसकेको दाबी गरे । 

सुकुमबासीहरूले त्रिपालमुनि पनि त्रासमा बस्नुपरेको उपाध्यक्ष खड्कालाई बताएका थिए । सुकुमबासी युवा मनाहाङ सुब्बाले घरमा डोजर लगाएपछि त्रिपालमुनि पनि नगरपालिकाले पटक–पटक आक्रमण गरेको बताए । ‘हामीले यसरी बस्दा पनि सुख पाएका छैनौँ । प्रहरी बिहानै यो बाटो औँला ठड्याउँदै हिँड्ने काम पनि भयो । हामीलाई यसरी त्रिपाल टाँगेर बस्दा प्रहरीले हातपात पनि गर्यो,’ उनले भने, ‘अझै पनि त्रास छ । कतिवेला प्रहरी आउँछ र यहाँबाट उठाउँछ भन्ने डर छ । हाम्रो समस्याको चाँडो समाधान हुनुपर्यो ।’

सुझावित समाचार