अदालतमा देखिएको समस्याबारे गठबन्धनकाे धारणा छिट्टै सार्वजनिक हुन्छ : प्रचण्ड

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्। अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पारेका छन्।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने पनि बताए । उनले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दाबीसमेत गरे। उनले भने, ‘गठबन्धन ठिक ढंगले अगाडि बढ्दै छ। तपाईँहरूले पनि देखिराख्नु भएको छ। अब सरकारले पूर्णता पाइसकेपछि कामले पनि बिस्तारै गति लिन थाल्दैछ। काठमाडौंमा अहिले नेताहरू कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १–२ दिन ढिला भएको छ । बैठक बस्नेबित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ। यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं। गठबन्धन स्मुथ्ली चलिराखेकाे छ। कुनै राजनीतिक वा अन्य विवाद आएको छैन ।’

अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको पनि बताए । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको तर्क थियो। उनले भने, ‘अर्ली इलेक्सन हुँदैन।  क्लियर हुनुहोला। अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन। दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन। कोही कन्फ्युज हुनुपर्दैन।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो । उनले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताए । 

सुझावित समाचार