एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा छानिने

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एक हजार पाँच सय ३६ प्रतिनिधि सहभागी गराउने स्थायी समितिको प्रस्ताव परिमार्जन गर्दै महाधिवेशनमा एक हजार नौ सय ९९ जना सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूले प्रतिनिधिको संख्या बढाउन सुझाव दिएअनुसार संख्या बढाउने निर्णय भएको बताए । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि २७ कात्तिकमा देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय एमालेले गरेको छ । महाधिवेशनको उद्घाटन सकिएलगत्तै एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुनेछ ।

यसपटक एमालेले केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ । नेपाली वैज्ञानिक राम लक्ष्मणले तयार पारेको मतदान मेसिनको एमालेले केन्द्रीय कमिटी बैठकस्थलमै शुक्रबार मतदान गर्ने तरिकाको परीक्षण गराएको छ । 

सुझावित समाचार