राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

चार सदस्यीय मन्त्रिपरिषद् गठन

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् ।

गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । पाण्डेले बिहीबारै तीन मन्त्री नियुक्त गरेका छन् । गठबन्धनका तीन दल माओवादी, कांग्रेस र एकीकृत समाजवादीका एक–एक मन्त्री बनेका हुन् । 

माओवादीकी कुमारी मोक्तानले सामाजिक विकास, कांग्रेसका कृष्णलाल भँडेलले भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका कृष्ण खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । खनाल एमालेमा हुँदा सामाजिक विकासमन्त्री थिए । मन्त्री रहेकै अवस्थामा २३ भदौमा एमाले छाडेर उनले समाजवादी रोजेका थिए । उनीहरूले बिहीबारै सपथ लिएका छन् । 

माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गठबन्धनमा भएको छ । ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्छ । तिहारअघि नै विश्वासको मत लिनेबारे छलफल भइरहेको जमकट्टेलले बताए । 

बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधनपछि एमाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै पाण्डेलाई बाटो खुलेको थियो । लगत्तै गठबन्धनमा रहेका ५९ सांसदको समर्थनसहित पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

४४ महिनाअघि भएको प्रदेश सभाको निर्वाचनमा पाण्डे एमालेबाटै निर्वाचित भएका थिए । निर्वाचित भएसँगै उनी मुख्यमन्त्रीका दाबेदार थिए । तर, एमाले अध्यक्ष केपी ओलीको रोजाइमा नपरेपछि पाण्डे मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । २ भदौमा एमाले विभाजनपछि उनी नयाँ पार्टी एकीकृत समाजवादीतर्फ लागेका हुन् । 

सुरुवातका तीनैजना दाबेदार बने मुख्यमन्त्री
बागमती प्रदेश सभामा तत्कालीन एमाले एक्लैले बहुमत हासिल गरेपछि उसैको नेतृत्वमा सरकार बन्ने निश्चित थियो । तर, मुख्यमन्त्री को बन्ने टुंगो थिएन । पार्टी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य र पूर्वस्थानीय विकासमन्त्री राजेन्द्र पाण्डे स्वाभाविक दाबेदार देखिएका थिए । तर, अध्यक्ष केपी ओलीको रोजाईमा डोरमणि पौडेल परे । पौडेल दलको नेता चयन गर्ने निर्वाचनमा शाक्यविरुद्ध उभिए । निर्वाचन नै हुने भएपछि माधवकुमार नेपाल पक्षका पाण्डे पछि हटे र नेपाल पक्षकै शाक्यलाई समर्थन जनाए । तर, निर्वाचनमा पौडेलले ३४ ल्याउँदा शाक्यले २४ मत मात्र ल्याइन् । 

गत २ भदौमा एमाले विभाजन गरेर नेपाल पक्ष निर्वाचन आयोग पुगेपछि ओलीले पौडेललाई राजीनामा गराई नेपाल पक्षमा रहेकी शाक्यलाई दलको नेता चयन गर्न लगाए । विभाजनको सँघारमा ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर नेपाल नेतृत्वको पार्टीमा जानबाट रोके । तर, मुख्यमन्त्रीको शपथ लिएकै दिन अल्पमतमा देखिएकी शाक्य ७१ दिनपछि राजीनामा दिन बाध्य भइन् । शाक्यको बहिर्गमनसँगै ४४ महिनाअघि एमालेमै रहँदा मुख्यमन्त्रीको दौडमा रहेका पाण्डे नयाँ मुख्यमन्त्री बने । 
 

सुझावित समाचार