बाढीले धरान-धनकुटा सडकखण्ड अवरुद्ध

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

दुई दिनदेखि परेको लगातारको वर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका– ६ घन्टेनजिक सडक बगाउँदा कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । बाढीले सडक बगाएपछि मंगलबार अपराह्नदेखि राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडकको ठूलो क्षेत्रमा क्षति पुर्याएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको प्रहरीले बताएको छ ।

बाढीले करिब दुई सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायले बताए । ‘लेउतीको बाढीले दुई सय मिटरभन्दा बढी सडक बगाएको छ । राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ,’ डिएसपी रायले भने, ‘धेरै सडक बगाएकाले तत्काल सडक खुल्ने सम्भावना छैन । वैकल्पिक सडक बनाएर सडक सुचारु गर्ने प्रयास हुँदै छ । वर्षा नरोकिएकाले समस्या भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा धरानबाट धनकुटातर्फ आउँदै गरेका र धनकुटा हुँदै धरानतर्फ जाँदै गरेका सयौैँ सवारीसाधन रोकिएका थिए । तत्काल सडक खुल्ने सम्भावना नरहेकाले सवारीसाधनलाई बीचबाटोबाटै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सइ सुरेन्द्र खड्काले बताए । ‘बाटो अवरुद्ध हुँदा रोकिएका गाडीहरूलाई जताबाट आएको उतै फर्काएका छौँ,’ उनले भने । यसैबीच लगातारको वर्षाका कारण हिले–भोजपुर, भेडेटार–राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फको सडक पनि अवरुद्ध भएको छ ।       

See More On

सुझावित समाचार