पूर्ण रूपमा खुल्यो नेपालगन्ज नाका, आउजाउ गर्न थाले सवारीसाधन

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

लकडाउनका वेला बन्द भएको नेपालगन्ज नाका आइतबारबाट पूर्ववत रूपमा सञ्चालनमा आएको छ। सीमास्थित दुवै देशका सुरक्षा अधिकारीको बैठकले नाकालाई पूर्ववत रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि यो नाकाबाट साना तथा यात्रुबाहक सवारीसाधनसमेत सञ्चालनमा आएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए। 

उनले नेपालका साना तथा यात्रुबाहक साधनहरू अनुमति लिएर भारतको विभिन्न सहरमा जान थालेको बताए । आइतबार बिहानैदेखि नाकाबाट सवारीसाधन आउजाउ गर्न थालेको बताउँदै उनले दुवै देशका मोटरसाइकल र अटो रिक्सा पनि नाका भएर आउजाउ गर्न थालेको बताए। 

लकडाउन सुरु भएदेखि दुवै देशका सर्वसाधारणले मोटरसाइकल, अटो रिक्सा, जिप, कार, भ्यान आ–आफ्नो देशमा राखेर एकअर्काको देशमा जाने व्यवस्था गरिएको थियो । ‘नेपालगन्ज नाका लकडाउनअघिको अवस्थामा फर्किएको छ। सञ्चालन अनुमति लिएर दुवै देशका सवारीसाधन निर्वाध रूपमा एकअर्को देशमा सञ्चालन हुन थालेका छन्,’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने ।   

गाडी लिएर आउने भारतीयले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान बनाइएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए। उनले पिसिआर रिपोर्ट नभएका भारतीयलाई प्रवेश अनुमति नदिइने बताए । भारतीयको सुविधाको लागि नाकामा सुविधा शाखा सञ्चालनमा ल्याइएको छ,’ उनले भने । 

आइतबार पहिलो दिन २०–२२ वटा भारतीय गाडी नेपाल आएको र ७–८ वटा नेपाली गाडी भारत गएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले पहिलो दिन भएकोले रेकर्ड राख्ने काम नभएको बताउँदै भन्सार कार्यालयले पूर्ण रूपमा इजाजत नदिएको बताए । ‘नेपालगन्जसम्म जानका लागि मात्र भन्सार कार्यालयले इजाजत दिएको छ,’ उनले भने। 
 

सुझावित समाचार