ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरूको माग

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

ए–लेभलका विद्यार्थीहरूले ब्रिटिस काउन्सिलले दुई महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन्। आज (आइतबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले कोरोना भाइरसको त्रास र नजिकिँदै गरेको चाडबाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन्। 

पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रूपमा परीक्षा लिने हो भने ब्रिटिस काउन्सिल वा सरकारले विद्यार्थीहरूको जिम्मेवारी लिनुपर्ने बताए। उनले भने, ‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिस काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो।’ कोरोना भाइरसको डर र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रूपमा परीक्षा दिन सहज नहुने उनको भनाइ थियो। 

उनले दुई महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखे। सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरे पनि अहिलेसम्म सबै साथीहरूले प्रवेशपत्र नै नपाएको बताए। 

उनले भने, ‘ब्रिटिस काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो।’ ब्रिटिस काउन्सिलको गैरजिम्मेवारीपनले विद्यार्थीहरू थप मानसिक तनावमा परेकोसमेत बताए। 

कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिस काउन्सिलले चासो नदिएको आरोप लगाइन्। अर्का विद्यार्थी दीपेश बाँस्कोटाले कार्यक्रममा विद्यार्थीहरूलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गरे। 

See More On

सुझावित समाचार