बाटो हिँड्दै गरेकी महिला ढलमा बेपत्ता, शव फेला पर्यो तर सनाखत भएन
काठमाडौं जोरपाटीको नयाँबस्तिस्थित बागमती करिडोर हुँदै गत सोमबार (४ असोज)को साँझ एक महिला माकलबारीतर्फ जाँदै थिइन् । सडक अँध्यारो थियो । सडकको बीचभागमा फुटेको ढलमा उनको आँखा परेन । हिँड्दै गरेकी उनी फुत्त ढलभित्र छिरिन् । प्रत्यक्षदर्शी उद्धारका लागि अगाडि बढे । तर, उनलाई कसैले फेला पारेनन् । किनकि ढल हुँदै बगेको पानीको तेज धारले उनलाई बेपत्ता बनाइसकेको थियो । घटनालगत्तै पुगेको प्रहरीले उनलाई कतै भेट्टाउन सकेन । मंगलबार एउटा शव नयाँ बानेश्वरस्थित बागमती नदीको किनारमा भेटियो । प्रहरीले तिनै महिनाको शव भएको अनुमान गरेको छ । तर, सनाखत अझै सनाखत हुन सकेको छैन ।
भक्तपुरको ढलमा खसेका ट्रकचालकको मकवानपुरमा शव भेटियो
२८ जेठ ०७७ मा भक्तपुरको चुनदेवीमा ढलको नालीमा खसेर ५७ वर्षीय नरबहादुर राउत बेपत्ता भए । सल्लाघारी, चुनदेवी र सूर्यविनायक खण्डमा पनि बाढीको आतंक थियो । दिउँसो पौने ४ बजे सल्लाघारीको ख्वपः हार्डवेयर पसलमा सिमेन्ट झारेपछि ना.६ख १६१६ नम्बरको ट्रक चलाइरहेका राउतले गाडी अगाडि बढाए । हाइवेमै पानी जमेको देखेपछि ओर्लेर बाटो कस्तो र पानी कति छ भनेर हेर्न उनी पैदल अगाडि बढे । खुट्टाले छाम्दै थोरै अगाडि मात्रै के बढेका थिए, कभर नलगाएको ढलमा खुट्टा पर्यो । पानीको भँगालोले तानेर उनलाई ढलभित्रै लग्यो । ढलबाटै उनी करिब डेढ सय मिटर टाढाको हनुमन्ते खोलामा मिसिए र बेपत्ता भए । हनुमन्तेले राउतलाई बागमतीमा मिसायो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ स्थायी घर भएका उनको शव अर्को दिन मकवानपुरकै सीमानजिक भेटियो । ट्रक चलाएर घर धानिरहेका नरबहादुरका तीन छोराछोरी र पत्नीको बिचल्ली भयो ।
तरकारी किन्न हिँडेकी हिराले सडकको खाल्डोमा परेर ज्यान गुमाइन्
०७६ असारमा ललितपुरको भैँसेपाटीमा हिरा श्रेष्ठको पनि ढलमै खसेर ज्यान गयो । तरकारी किन्न घरबाट निस्किएकी उनी भैँसेपाटी चोकनजिकै खनिएको खाल्डोमा परेकी थिइन् । सडकको बीचमै विनासंकेत खुला छाडिएको खाल्डोमा परेर हिराको ज्यान गएपछि मात्रै ललितपुर महानगरपालिकाले त्यस क्षेत्रमा ढल व्यवस्थित गरेको थियो ।
स्कुलबाट फर्किँदै गरेकी १० वर्षीया बालिकाले ढलमै ज्यान गुमाइन्
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित सामाखुसीमा ०७४ असारको अन्तिम साता १० वर्षीया विनिता फुँयालले पनि ढलमै खसेर ज्यान गुमाइन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलबाट घर फर्कंदै गर्दा सडक किनारको ढलमा खसेर ज्यान गुमाएकी थिइन् । उनीसँगकी अर्की बालिकालाई प्रत्यक्षदर्शीले खस्दाखस्दै हात तानेर उद्धार गरेका थिए । तर, मुसलधारे पानी परिरहेका वेला विनितालाई भने ढलले सोहोरेर लग्यो । सडकमा चिप्लिएर नालीमा खसेकी थिइन् । उनको शव स्वयम्भू नजिकैको चःमती खोलामा भेटिएको थियो ।
साइकलमा देश घुमेका श्यामसुन्दर
राज्यको धरापमा, अनाहक ज्यान गुमाए
१० कात्तिक ०७५ को साँझ साइकलयात्री श्यामसुन्दर श्रेष्ठ डल्लु चागलस्थित निवासबाट कीर्तिपुर चोभारस्थित बहिनीको घर जान निस्किएका थिए । तर, बाटैमा राज्यले बनाएको धरापमा परेर जीवन गुमाए । त्रिवि गेटनजिक बाटो खनेर खुला छाडिएको ढलमा साइकलसहित खस्दा उनको मृत्यु भएको थियो । साइकलमै सम्पूर्ण नेपाल छिचोलेका श्यामसुन्दरको देशकै राजधानीमा ढलमा परेर ज्यान गएपछि सरकारको व्यापक आलोचना भयो ।
ढलमा खसेका केशवको एक्स्काभेटर
प्रयोग गरेर धन्न ज्यान जोगाइयो
९ भदौको साँझ ४२ बर्षीय केशव लिम्बू सडक जोरपाटीको माकलबारी हुँदै डेरतर्फ जाँदै थिए । सडकमा बत्ती थिएन । अविरल बर्षाका कारण फुटेको ढल सडक बीचमै धराप बनेर तेर्सिएको उनले भेउ नै पाएनन्, ढलमा खसे । प्रत्यक्षदर्शीले उद्धार गर्न जाँदासम्म लिम्बू ढलमा बेपत्ता भइसकेका थिए । प्रहरीले उनी ढलभित्रै अड्किएको अनुमान गरेर एक्स्काभेटर मगाएर ढल फुटायो । निकै मिहिनेतपछि लिम्बूलाई जीवितै उद्धार गरियो ।