- बन्दसत्रबाट सबै प्रतिवेदन सर्वसम्मतिले पारित, घर पुगेर अध्ययन गरी लिखित सुझाव दिन प्रतिनिधिहरूलाई गगनको आग्रह
- सभापतिसहित पदाधिकारीका पाँच प्रत्याशीले फिर्ता लिए उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न बिहीबार मतदान गर्दै छन् । सभापतिसहित १८ पदाधिकारीका लागि ७१ र २१० केन्द्रीय सदस्यका लागि ७४१ जना गरी ८१२ उम्मेदवार छन् ।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसकेका छन् । ६६ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनीत गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनीत गर्नेछन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । काठमाडौं उपत्यकाबाट महिलामा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध भएकी छिन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान समय तोकिएको बताए । ‘प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ,’ खड्काले भने, ‘मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाइन्छ ।’
यसअघि बिहान साढे ७ बजेदेखि निर्वाचन सुरु गर्ने कार्यतालिका भए पनि वर्षा र प्राविधिक कारणले तीन घण्टा ढिलो सुरु गर्न लागिएको छ । तर, क्लस्टर र उम्मेदवारको संख्या धेरै भएकाले मतदान अवधि लम्बिन सक्ने नेताहरू बताउँछन् ।
राष्ट्रिय सभागृहमा एक र खुलामञ्चमा पाँच मतदान केन्द्र तोकिएको छ । प्रदेशगत रूपमा मतदान गर्न मिल्ने गरी मतदान केन्द्र तोकिएको छ ।
कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि खुलामञ्चको पहाड हल तोकिएको छ । यही हलमा लुम्बिनीका प्रतिनिधिले पनि मतदान गर्नेछन् । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । त्यस्तै खुलामञ्चमा रहेको मधेश हलमा कोशी र मधेशका तथा हिमाली हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
उम्मेदवारी दर्तासँगै उम्मेदवार र समर्थकहरू मत माग्न व्यस्त छन् । खुलामञ्च, राष्ट्रिय सभागृहका साथै प्रतिनिधिहरू बसेका स्थानमा समेत मत माग्ने क्रम जारी छ ।
मतदान व्यवस्थित र मर्यादित बनाउन निर्वाचनसम्बन्धी आचारसंहिता जारी गरिएको छ । जसमा महाधिवेशन स्थलमा चिटलगायत प्रचार सामग्री बाँड्न प्रतिबन्ध लगाइएको छ । उम्मेदवार तथा प्रचारप्रसारमा खटिएका सबैलाई नियम पालना गर्न आग्रह गरिएको छ ।
तर, उम्मेदवार र उनीहरूका समर्थकले पोस्टर र ब्यानरसहित मत मागिरहेका छन् । केही उम्मेदवारले गीतमार्फत, केहीले गजल र कवितामार्फत पनि मत मागिरहेका छन् ।
कतिपयले गगन थापा समूह भनेरसमेत मत मागिरहेका छन् । सोही व्यहोराको चिटसमेत बाँडेका छन् । अधिकांशले भने पोस्टर, ब्यानर र भिजिटिङ कार्डमार्फत मत मागिरहेका छन् । उम्मेदवारको भिजिटिङ कार्ड यत्रतत्र छरिएका छन् । जबकि, निर्वाचन समितले चुनाव प्रचार गर्दा डिजिटल प्रविधि उपयोग गर्न आग्रह गरेको छ ।
कुन पदमा को–को भिड्दै छन् ?
- सभापतिमा निवर्तमान सभापति गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् । स्कुल पढ्दा खड्गी थापाका गणित शिक्षक थिए । थापा आफैँले सहमतिको प्रयास गरेका थिए । तर, खड्गीले लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धाबाटै अगाडि बढ्नुपर्ने अडान लिएका थिए । हारजितलाई स्वाभाविक रूपमा लिने खड्गीले बताएका छन् ।
सभापतिमा उम्मेदवारी दिएका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले भने उम्मेदवारी फिर्ता लिएका छन् । थापासँग छलफल गरेपछि राठोरले उम्मेदवारी फिर्ता लिएका हुन् । त्रिचन्द्र क्याम्पसमा थापा स्ववियु सदस्य हुँदा राठोर स्ववियु सभापति थिए ।
- उपसभापति खुला (२) पदमा लागि ८ जना प्रतिस्पर्धामा छन् । गोविन्द भट्टराई, चन्द्र भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्र पाण्डे उपसभापतिको उम्मेदवार छन् । मीनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका हुन् । थापाको आग्रहमा रिजाल र चालिसेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
समावेशी उपसभापति (१) पदका लागि पाँचजना प्रतिस्पर्धामा छन् । जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरुङ उम्मेदवार छन् ।
- महामन्त्री (३) खुला (२) र महिला (१) पदका लागि ११ जना प्रतिस्पर्धा छन् । खुलातर्फ (२) पदका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुनमगर, नैनसिंह महर, डा. सन्तोष उपाध्याय, डा. सुनीलकुमार शर्मा र शंकर तिवारी उम्मेदवार छन् । महिला (१) महामन्त्रीमा तीनजना चुनावी मैदानमा छन् । डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाल उम्मेदवार छन् ।
- सहमहामन्त्री खुला (२) पदका लागि रामहरि खतिवडा, अजयबाबु सिवाकोटी, अमृत अर्याल, देवेन्द्रराज कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेश धमला र राजीव ढुंगाना उम्मेदवार छन् ।
- सहमहामन्त्री महिला (१) पदका लागि प्रतिमा गौतम र नानुमैया बाँस्तोला उम्मेदवार छन् ।
- आदिवासी जनजाति (१) पदका लागि ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के, बहादुरसिंह लामा उम्मेदवार छन् ।
- सहमहामन्त्री दलित (१) पदका लागि प्रकाश स्नेही, नरेन्द्र पासवान, मानबहादुर नेपाली र लक्ष्मी परियार उम्मेदवार छन् ।
- सहमहामन्त्री मधेशी (१) पदका लागि अजयकुमार चौसरिया, अभिशेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनीष मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाह उम्मेदवार छन् ।
- सहमहामन्त्री खसआर्य (१) पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत उम्मेदवार छन् ।
- सहमहामन्त्री थारू (१) पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी, सुरेश यादव उम्मेदवार छन् ।
- सहमहामन्त्री मुस्लिम (१) पदका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार, डा. मो. फिरदोस आलम उम्मेदवार छन् ।
- सहमहामन्त्री पिछडिएको क्षेत्र (१) पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायण भट्टराई र राजन कुँवर उम्मेदवार छन् ।
- सहमहामन्त्री अल्पसंख्यक/अपांगता (१) पदका लागि आङगेलु शेर्पा, नगेन्द्र कुमाल र बाबुकृष्ण सापकोटा उम्मेदवार छन् ।