कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न सात हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये सात हजार ३९ ले मात्रै मतदान गरेका छन् । राष्ट्रिय सभागृह र खुलामञ्चमा शुक्रबार बिहान साढे ८ बजेदेखि साँझ ८ बजेसम्म मतदान भएको थियो । ७ बजेपछि भने प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश दिइएको थिएन ।
बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिए पनि बिहान साढे ८ बजे मात्र मतदान सुरु भएको थियो । ३ बजेसम्म मतदान नसकिएपछि साँझ ५ बजेसम्म समय थप गरिएको थियो । ५ बजेसम्म पनि मतदान नसकिएपछि साँझ ७ बजेसम्म समय थपिएको थियो । यसअघि बिहीबार तोकिएको मतदान मतपत्र छपाइमा ढिलाइ हुँदा शुक्रबारका लागि सारिएको थियो ।
प्रतिनिधिलाई सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित २३ मतपत्रमा मतदान गर्न ३० देखि ४५ मिनेटसम्म लागेको थियो । दुई स्थानमा मतदान हुँदा उम्मेदवार र समर्थकलाई प्रचारको भ्याइनभ्याइ थियो ।
समर्थकले राष्ट्रिय सभागृहबाहिर, भृकुटीमण्डप सडक र खुलामञ्चआसपास दिनभर मत मागिरहेका थिए । उम्मेदवार भने मतदाताको लाइनमै पुगेर भोट माग्न व्यस्त देखिन्थे । दुई स्थानमा मतदानको व्यवस्था गरिएकाले मत माग्ने र प्रचार गर्नेको भिड दिनभर नै लागेको थियो ।
केही उम्मेदवारले आफूअनुकूल नामावली तयार पारेर महाधिवेशन प्रतिनिधिलाई बाँडेका थिए । ती सूचीमा सभापतिका लागि गगन थापासहित विभिन्न पदमा आफूअनुकूल उम्मेदवारका नाम राखिएका थिए । मतदानका क्रममा प्रतिनिधिले उम्मेदवारसँग ‘सहमतिका सूची’बारे जिज्ञासा राखिरहेका थिए । कतिपयले सूचीमा आफ्नो नाम परेको भन्दै उम्मेदवारलाई बधाईसमेत दिएका थिए । तर, उम्मेदवारहरूले कुनै पनि सूची आधिकारिक नभएको भन्दै आफूलाई मतदान गर्न आग्रह गरिरहेका थिए ।
पान पसलदेखि सडकपेटीसम्म उम्मेदवारको प्रचार देखिन्थ्यो । कतिपयले रुखमा तलदेखि माथिसम्म पोस्टर टाँसेर भोट मागिरहेका थिए । भिजिटिङ कार्ड बाँड्ने, पोस्टर टाँस्ने र छातामा चारैतिर पोस्टर झुन्ड्याएर प्रचार गर्ने शैलीसमेत अपनाइएको थियो । मतदानस्थलभित्र प्रचार सामग्री लैजान नपाइने आचारसंहिता भए पनि राष्ट्रिय सभागृह र खुलामञ्चमा भिजिटिङ कार्ड जताततै छरिएका थिए । सभापतिका उम्मेदवार गगन थापा र निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा अवलोकनका लागि दुवै मतदान केन्द्र पुगेका थिए ।