- आज मतदान, एकजनाले २३ मतपत्रमा मत दिनुपर्ने, कम्तीमा ४० मिनेट लाग्ने, एक केन्द्रमा २०० ले एकैपटक मतदान गर्न सक्ने
मतपत्र छपाइमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन एक दिन लम्बिएको छ । १८ असोजमा उद्घाटन भएको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, उम्मेदवारी दर्ता प्रक्रिया र उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान १० बजे, दिउँसो १ बजे र दिउँसो २ बजे मतदान सुरु गर्ने भनेर समय धकेल्दै लगिएकामा मतपत्र छपाइ नसकिएपछि अन्ततः शुक्रबारका लागि मतदान सारिएको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले दुई लाखभन्दा बढी मतपत्र छापिएको बताए । मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन् । मतपत्रमा हस्ताक्षरका लागि २३ वरिष्ठ अधिवक्ता खटिएका छन् । उनीहरूलाई हस्ताक्षर गर्न दिउँसोदेखि राति ११ बजेसम्म लागेको थियो । शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । तर, साँझसम्मै लाग्ने आकलन गरिएको छ ।
हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म २३ मतपत्रमा मतदान गर्नुपर्नेछ । एउटा मतपत्रमा मतदान गरिसकेपछि अर्को मतपत्र लिएर मतदान गर्दै जानुपर्ने व्यवस्था मिलाइएको छ । एक प्रतिनिधिलाई मतदान गर्न ३० मिनेट लाग्ने निर्वाचन समितिको दाबी छ । तर, निर्वाचनमा खटिएका अधिकारीहरू मतदानका लागि एकजनालाई ४० देखि ४५ मिनेट लाग्ने बताउँछन् ।
प्रदेशगत रूपमा एकपटकमा २०० सयका दरले मतदानमा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । प्रत्येक केन्द्रमा ५० वटा टेबलको व्यवस्था गरिएको छ । एउटा टेबलमा ‘पार्टेसन’ गरेर चार खण्ड बनाइएको छ । जहाँबाट एकैपटक ४ जनाले गोप्य मतदान गर्न सक्छन् । निर्वाचन समितिले सहजीकरणका लागि पाँच सयजनालाई स्वयंसेवक खटाएको छ ।
सभापतिदेखि सदस्यसम्म उम्मेदवारको संख्या ८१२ छ । पदाधिकारीका लागि निर्वाचन हुने १८ पदका लागि ७१ उम्मेदवार छन् भने २१० निर्वाचित हुने केन्द्रीय सदस्यका लागि ७४१ उम्मेदवार छन् । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधि छन् । निर्वाचन समितिले यसअघि बुधबार बिहान सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा सात हजार २५५ प्रतिनिधि थिए । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीपहिरोलगायतका कारणले अधिवेशन हुन नसकेका पालिकाबाट पुरानै सभापतिसहित प्रतिनिधि कायम गर्दा संख्या बढेको निर्वाचन समिति संयोजक खड्काले बताए ।
मतदाताहरू मतदानका लागि बिहीबार बिहानैदेखि प्रतीक्षामा थिए । उनीहरू बिहान सबेरै मतदानस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा पुगिसकेका थिए । अपराह्नसम्म पनि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा थिए । तर, निर्वाचन समितिले अपराह्न साढे ४ बजेपछि पत्रकार सम्मेलन गरेर निर्वाचनको मिति सारिएको जानकारी गराएको थियो । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबारका लागि सारिएको संयोजक खड्काको भनाइ छ ।
‘अब मतदान गर्न मात्रै बाँकी हो, अन्य सबै तयारी पूूरा भइसकेको छ । साँझमा सुरु गरेर रातभर मतदान गर्दा मतदातालाई अप्ठेरो पर्ने भएकाले शुक्रबारका लागि सारिएको हो । मतदान सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूलाई भोलि नै बिदाइ गर्छौँ,’ उनले भने, ‘मतपत्र तयार छ । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति पनि तयार छ । मतदान केन्द्रमा मतदानका लागि सबै व्यवस्थापन तयार गरिसकिएको छ । आवश्यक स्वयंसेवकहरू पनि तयार छन् । थप सुरक्षा आवश्यक पर्दा सुरक्षा व्यवस्थासमेत सम्पूर्ण रूपमा तयार छ । भोलि बिहान ७ बजे नै मतदान सुरु हुन्छ ।’
पार्टी नेतृत्वले बिहीबार नै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समय उचित नहुने निष्कर्षमा पुगेको खड्काले बताए । निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारसँग निर्वाचनका विषयमा बिहीबार दिउँसो छलफल गरेको थियो । उक्त छलफलका क्रममा उम्मेदवारहरूले ढिला नगरी मतदान प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए । तर, रातिको समय, मौसम र सुरक्षालगायतका कारण रातभर मतदान गराउन उचित नहुने निष्कर्षमा समिति पुगेको हो ।
शुक्रबार बस्ने र खाने खर्च पार्टीले व्यहोर्ने
कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई चार दिनका लागि खाना र खाजाको व्यवस्था गरेको थियो । होटेलमा बस्ने खर्च स्वयं प्रतिनिधिले नै तिर्नुपर्ने व्यवस्था थियो । तर, महाधिवेशन लम्बिएका कारण शुक्रबार बस्ने र खाने खर्च पार्टीले नै व्यहोर्ने भएको छ । जसका लागि क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क राख्न कांग्रेसले भनेको छ ।
‘बिहीबार साँझसम्म पूर्वनिर्धारित सेड्युलबमोजिमको व्यवस्था छँदै छ । आवश्यकताअनुसार थपिएको समयावधिबमोजिम खानाको साबिक स्थान भृकुटीमण्डपमा नै व्यवस्था गरिनेछ । निर्धारित सेड्युलभन्दा एक दिन समय थपिँदा परेको असर र अप्ठ्यारोलाई परिस्थितिको बाध्यताका रूपमा लिएर ऐक्यबद्ध ढंगले शुक्रबार बिहानैबाट निर्वाचन प्रक्रियामा सहभागी बन्न सभापति गगन थापाले सबैलाई आग्रह गर्नुभएको छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले भने । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन लम्बिँदा हुने खर्च पार्टीले नै व्यहोर्ने स्पष्ट पारे ।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह मतदान केन्द्र ‘क’ (१) मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ । खुलामञ्च, मतदान केन्द्र ‘ख’मा तराई मधेश हल दुईवटा, पहाड हल दुईवटा र हिमाल हल एउटा व्यवस्था गरिएको छ । तराई मधेश हलमा क्रमशः (२) कोशी प्रदेश र (३) मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । हिमाली हल (४) मा गण्डकी प्रदेशका प्रतिनिधि, पहाड हल (५)मा लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । पहाड हल (६) मा कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि मतदानको व्यवस्था मिलाइएको छ ।
परिचयपत्र र मतदाता नामावली रुजु गर्ने
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु हुनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।
मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।
मतदानलगत्तै मतगणना, तीन दिनभित्रै परिणाम सार्वजनिक गर्ने दाबी
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाउने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ । दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताए । ‘आवश्यकताअनुसार १३ वटासम्म मतगणना स्थल बनाएर भए पनि दुई/तीन दिनमै मतगणना सम्पन्न गर्ने तयारीमा छौँ,’ खड्काले भने ।
आचारसंहिताविपरीत पोलदेखि भुइँभर प्रचार सामग्री छरपस्ट
उम्मेदवारी दर्तासँगै उम्मेदवार र समर्थकहरू मत माग्न व्यस्त रहे । खुलामञ्च, राष्ट्रिय सभागृहका साथै प्रतिनिधिहरू बसेका स्थानमा समेत मत माग्दै पुगे । उम्मेदवार र उनीहरूका समर्थकले पोस्टर र ब्यानरसहित मत माग्ने क्रममा महाधिवेशन स्थलपरिसरका पोलदेखि भुइँभर प्रचार सामग्री यत्रतत्र देखिन्छन् । खुलामञ्चदेखि राष्ट्रिय सभागृहसम्मका सडक प्रचार सामग्रीले ढाकिएका छन् ।
केही उम्मेदवारले गीतमार्फत, केहीले गजल र कवितामार्फत पनि मत मागेका छन् । कतिपयले गगन थापा समूह भनेरसमेत मत मागिरहेका छन् । सोही व्यहोराको चिटसमेत बाँडेका छन् । अधिकांशले भने पोस्टर, ब्यानर र भिजिटिङ कार्डमार्फत मत मागेका छन् । उम्मेदवारको भिजिटिङ कार्ड यत्रतत्र छरिएका छन् । जबकि, निर्वाचन समितिले चुनाव प्रचार गर्दा डिजिटल प्रविधि उपयोग गर्न आग्रह गरेको छ । निर्वाचनमा तय गरिएको आचारसंहिता उल्लंघन भएको समितिले नै स्वीकार गरेको छ । संयोजक खड्काले भने, ‘हामीले डिजिटल्ली प्रचारप्रसार गर्ने भनेका थियौँ । तर, पोस्टर, भिजिटिङ कार्ड, पम्प्लेटलगायतबाट प्रचारप्रसार भएको पाइएको छ । छरपस्ट छरिएका पोस्टर स्वयंसेवक लगाएर हटाउँछौँ ।’ र, राष्ट्रिय सभागृह–आसपासमा बिहीबार साँझपख झाडु लगाएर सफा गरिएको थियो ।
सबैभन्दा बढी चासोमा महामन्त्रीको प्रतिस्पर्धा
कांग्रेसमा सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना चुनावी मैदानमा छन् । सभापतिको प्रतिस्पर्धा खासै चर्चामा छैन । सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरे पनि प्रत्याशी किशोरसिंह राठोरले उम्मेदवारी फिर्ता लिएर गगनलाई नै समर्थन गरेका छन् । स्कुले जीवनमा गगनका गणित गुरु श्यामकृष्ण खड्गी सभापतिका लागि प्रतिस्पर्धामा छन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन् । शर्मा र भुसाल विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।
उपसभापतिमा खुलातर्फ दुई पदका लागि गोविन्द भट्टराई, चन्द्र भण्डारी, चन्द्रमोहन यादव, धनराज गुरुङ, दीपक गिरी, मधु आचार्य र सुरेन्द्र पाण्डे गरी सातजना प्रतिस्पर्धामा छन् । उनीहरूबिच तीव्र प्रतिस्पर्धा रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । नेतृत्वको आग्रहमा मीनेन्द्र रिजाल र देवराज चालिसेले भने उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरूमध्ये विशेष महाधिवेशनमा भण्डारी र आचार्य मात्र सहभागी भएका थिए ।
समावेशी उपसभापतिमा एक पदका लागि पाँचजना चुनावी मैदानमा छन् । विनोद चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, रञ्जित कर्ण र सीता गुरुङ छन् । तत्कालीन सहमहामन्त्री मन्सुरलाई तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनमा लागेकै कारण तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै कारबाही गरेको थियो । चौधरी विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
सबैभन्दा बढी चासो महामन्त्रीमा छ । खुला महामन्त्री दुई पदका लागि विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेसहित आठ उम्मेदवार छन् । पौडेल र घिमिरे दुवैलाई विरासत जोगाउनुपर्ने चुनौती छ । विद्यार्थी राजनीतिबाट स्थापित दुवै चर्चित युवा नेता हुन् । विशेष महाधिवेशन सम्पन्न गर्न दुवैले महत्वपूर्ण भूमिका खेलेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन अगाडि बढाइरहेका वेला उनकै गृहजिल्लाका नेता नैनसिंह महर पनि महामन्त्रीका दाबेदार छन् । कर्णालीबाट निवर्तमान उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिमबाट शेरबहादुर देउवा नहुँदा भूगोल समेटेर कांग्रेसलाई अगाडि बढाउने उनको सोच छ । महर पनि विद्यार्थी राजनीतिबाटै आएका हुन् । महामन्त्रीका दाबेदार सुनील शर्मा अर्का चर्चित पात्र हुन् । राजनीतिका साथै स्वास्थ्य क्षेत्रबाट उनले सेवा गर्दै आएका छन् ।
विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उदयशमशेर राणा पनि महामन्त्रीको दौडमा छन् । उनी देउवा पक्ष छाडेर विशेष महाधिवेशनमा सहभागी भएका थिए । राणा तरुण दलबाट स्थापित भएका नेता हुन् ।
गगनको टिममै बसेर विगतमा काम गरेका शंकर तिवारीले पनि महामन्त्रीमै उम्मेदवारी दिएका छन् । तिवारी यसअघि केन्द्रीय सदस्य पनि भएका छैनन् । उनले राजनीतिक विश्लेषकको रूपमा समेत परिचय बनाएका छन् । अमरसिंह पुन र डा. सन्तोष उपाध्याय पनि प्रत्याशी छन् । पुनः लुम्बिनी प्रदेशका सभापति हुन् भने उपाध्याय चिकित्सक पेसामा छन् ।
महिला महामन्त्रीमा डिला र डिनालाई रिताको चुनौती
विशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेकी डा. डिला संग्रौला र १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’बिच महिला महामन्त्रीमा रोचक प्रतिस्पर्धा देखिएको छ । दुवै विद्यार्थी आन्दोलनबाट कांग्रेस राजनीतिमा स्थापित भएका हुन् । महिला महामन्त्रीमा रिता खनाल पनि दाबदार छिन् । उनी नेपाल ट्रेड युनियनबाट पार्टी राजनीतिमा आएकी हुन् । विगतमा निष्क्रिय रहेकी उनी विशेष महाधिवेशनपछि पुनः सक्रिय भएकी छिन् ।
कांग्रेसको विरासत बोकेको परिवार बाहिरै
कांग्रेसको राजनीतिक विरासत बोकेको परिवार १५औँ महाधिवेशनमा बाहिरै छ । कांग्रेस निर्माणमा बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिलगायत नेताहरूको उल्लेखनीय भूमिका रह्यो । पार्टी स्थापनादेखि राणाशासन र पञ्चायती व्यवस्था अन्त्य गर्दै बहुदलीय व्यवस्था स्थापनामा उनीहरूले नेतृत्वदायी भूमिका खेले । यी नेताका सन्तती यो महाधिवेशनमा बाहिरै छन् ।
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा बिपीपुत्र शशांकको संयोजकत्वमा आगामी २१–२३ मंसिरमा समानान्तर १५औँ महाधिवेशन आयोजना गरिएको छ । जसमा गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि दाह्रो खम्बाका रूपमा उभिएका छन् । शशांक कांग्रेसमा पूर्वमहामन्त्री हुन् भने प्रकाशमान र विमलेन्द्र पूर्वउपसभापति हुन् ।
यसैतर्फ संकेत गर्दै सभापति गगन थापाले महाधिवेशन उद्घाटन सत्रमा खुलामञ्चबाटै भनेका थिए, ‘हाम्रो आत्मा त्यही हो, बिपी कोइरालाको हो, गणेशमानको हो । अहिले बिपी कोइरालाका छोरा कहाँ हुनुहुन्छ, गणेशमानका छोरा कहाँ हुनुहुन्छ, मलाई थाहा छैन । तर, आत्मा यहाँ छ, आत्मा त्यही हो ।’
कांग्रेसलाई दुई कार्यकाल नेतृत्व गरेका र बिपी, गणेशमान र महेन्द्रनारायणसँग समेत संगत गरेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि यो महाधिवेशनमा बाहिरै रहे । उनी आगामी २१–२३ मंसिरको समानान्तर महाधिवेशनमा प्रमुख अतिथि बन्दै छन् । कोइराला परिवारकै डा. शेखर कोइराला पनि यो महाधिवेशनमा सहभागी भएका छैनन् । उनी कांग्रेस विभाजनले देशलाई राम्रो नगर्ने निष्कर्षसहित दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने पक्षमा छन् ।
गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला भने महाधिवेशनमा सहभागी छिन् । विशेष महाधिवेशनमा सहभागी नभएकी कोइरालालाई थापाले गत २१ फागुनको निर्वाचनपछि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । १५औँ महाधिवेशनमा सहभागी भए पनि उनी उम्मेदवार भने छैनन् । सानेपा स्रोतका अनुसार उनलाई मनोनीत कोटाबाट केन्द्रमा ल्याउने तयारी छ । मातृका कोइरालाकी नातिनी ऋचा पनि महाधिवेशनमा सहभागी छिन् । उनका बुवा दिवंगत कमल कोइराला कम्युनिस्ट नेता थिए ।