- व्यवस्थापन कमजोर हुँदा उम्मेदवारी दर्तामा भद्रगोल, साँझ ७ बजेसम्म दर्ता भएका उम्मेदवारको अन्तिम विवरण राति १ बजेसम्म पनि आएन
कांग्रेसको १५औँ महाधिवेशन विचार र नीति निर्माणभन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेदवारी दर्तातर्फ बढी देखिएको छ । तर, उम्मेदवारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा मंगलबार राति अबेरसम्म पनि उम्मेदवारको कुल संख्या टुंगिन सकेको थिएन ।
महाधिवेशनको तेस्रो दिन तथा बन्दसत्रको दोस्रो दिन मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि फाराम वितरण गरिएको थियो । साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति साढे ८ बजेसम्म दर्ता प्रक्रिया चल्यो । तर, साँझ ७ बजेसम्म दर्ता भएका उम्मेदवारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकेन ।
२० पदाधिकारी र केन्द्रीय सदस्यका लागि ६३ क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेदवारी दर्ता प्रक्रिया जटिल बनेको थियो । त्यसमा पनि गोलमटोल तरिकाले फाराम दर्ता गरिँदा उम्मेदवारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन् । सात हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुँदै छ ।
त्यसमाथि दर्ता प्रक्रियामा कम्प्युटर प्रणाली थिएन । व्यवस्थित डेस्क बनाइएको थिएन । उम्मेदवारका समर्थक पनि उत्तिकै रहेकाले दर्ता प्रक्रियामा पनि भिडभाड थियो । क्लस्टरअनुसार दर्ता हुनुपर्नेमा जुनसुकै क्लस्टरको पनि जुनसुकै डेस्कमा दर्ता गरिएको थियो । यसले पनि कुन क्लस्टरमा कति उम्मेदवारी परेको भन्ने टुंग्याउनै कठिन भएको थियो ।
क्लस्टरअनुसार उम्मेदवारी दर्ता हुनुपर्ने व्यवस्था भए पनि कतिपय उम्मेदवारले जुनसुकै क्लस्टरको डेस्कमा फाराम बुझाएका थिए । यसले कुन क्लस्टरमा कति उम्मेदवारी परेको हो भन्ने विवरण तत्काल अद्यावधिक गर्न समस्या भएको थियो ।
‘उम्मेदवारी दर्ताको क्रममा क्लस्टर नमिल्दा अहिलेसम्म संख्या यकिनसमेत गर्न सकिएको छैन । अझै केही समय त्यसैमा लाग्ने भयो,’ निर्वाचन प्रक्रियामा खटिएका एक नेताले मंगलबार राति साढे १२ बजे भने, ‘विभिन्न क्लस्टरअनुसार उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था भए पनि उम्मेदवारहरूले जुनसुकै क्लस्टरमा दर्ता गराउँदा समस्या भएको हो ।’
प्रतिनिधिको चहलपहल भने बन्दसत्रस्थल खुलामञ्चमा भन्दा उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृहमा बढी देखिन्थ्यो । राष्ट्रिय सभागृहमा नेतृत्वका आकांक्षी, प्रस्तावक र समर्थकको बाक्लो उपस्थिति थियो । त्यसको तुलनामा खुलामञ्चमा बन्दसत्र चलिरहेको दृश्य सुनसानजस्तै देखिन्थ्यो ।
आज प्रचार, भोलि मतदान
बुधबार उम्मेदवारले नाम फिर्ता लिने, नाम सच्याउने र अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यसपछि दिनभर उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइएको छ । बिहीबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
मतदानस्थल राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गर्न पाउनेछन् । खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान समाप्त भएपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । यसअघि मंगलबार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फाराम वितरण गरिएको थियो । साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।
सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा
विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले चुनौती दिएका छन् । गुरु–चेलाको सम्बन्ध अहिले एउटै पार्टीको शीर्ष नेतृत्वका लागि राजनीतिक प्रतिस्पर्धीको रूपमा परिणत भएको छ ।
साढे तीन दशकअघि थापा विद्यार्थी हुँदा काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा खड्गी माध्यमिक तहका गणित शिक्षक थिए । निर्वाचन कार्यतालिकाअनुसार थापा र खड्गी दुवैले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
खड्गीले विधानले दिएको अधिकार प्रयोग गरेर सभापतिमा उम्मेदवारी दिएको बताए । कांग्रेसको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको र पार्टीभित्र देखिएको ध्रुवीकरण मिलाउन आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए । ‘कांग्रेसभित्र जबर्जस्त ध्रुवीकरण देखिएको छ । यसले पार्टीलाई बलियो बनाउँदैन । देश र लोकतन्त्रका लागि पनि कांग्रेस बलियो हुनुपर्छ,’ खड्गीले भने, ‘पार्टीलाई एकताबद्ध गर्दै बलियो बनाउन सक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको छु । महाधिवेशन प्रतिनिधिहरूको सकारात्मक प्रतिक्रिया पाएको छु ।’
हारजित स्वाभाविक प्रक्रिया भएको भन्दै उनले गुरु–चेला प्रतिस्पर्धाको स्थितिले आफू खुसी रहेको बताए । ‘म स्कुलको गुरु, गगन विद्यार्थी थिए । अहिले लोकतान्त्रिक अभ्यासमा हामी सभापतिमा प्रतिस्पर्धा गर्दै छौँ । यसमा मलाई खुसी नै लागेको छ,’ खड्गीले भने, ‘महाधिवेशन प्रतिनिधिको निर्णय शिरोपर गर्छु ।’ उनले गगन राम्रो विद्यार्थी भएको पनि स्मरण गरे । वनस्थलीमै पढेका प्रदीप पौडेल र किशोरसिंह राठोर पनि राजनीतिमा स्थापित भएकोमा उनले खुसी व्यक्त गरे ।
खड्गीको राजनीतिक इतिहास ४० वर्षको छ । उनको राजनीतिक यात्रा ०४३ सालमा अमृत साइन्स (अस्कल) क्याम्पसबाट सुरु भएको थियो । खड्गी १२औँमा काठमाडौं जिल्ला कार्यसमितिको सहसचिव, १३औँ र १४औँ काठमाडौं ६ को क्षेत्रीय सभापति भएका थिए ।
उम्मेदवारी दर्तापछि थापाले प्रतिस्पर्धामा जित–हार स्वाभाविक भएको बताउँदै जितमा उक्सिन र हारमा निराश नहुन आग्रह गरे । ‘केन्द्रीय सदस्य हुँदा सर्वाधिक मत ल्याएर निर्वाचित भएको अनुभव पनि गरेको छु । दोस्रोपटक महामन्त्रीमा प्रतिस्पर्धा गर्दा अत्यन्त कम मत ल्याएको अनुभव पनि छ । तेस्रोपटक फेरि महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सानदार ढंगले जितेको अनुभूति पनि गरेको छु,’ उनले भने, ‘त्यसकारण पार्टीभित्रको प्रतिस्पर्धामा कहिले जित्ने, कहिले हार्ने हुन्छ । जित्दा अत्यन्तै धेरै उक्सिएर सबै कुरा भएजस्तो अनुभूति गर्नुहुँदैन र हार्दा सबै कुरा सकिएजस्तो पनि ठान्नुहुँदैन । मैले महामन्त्रीमा पहिलोपटक प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मत ल्याएको थिएँ । त्यसले सकियो भनेर म झिटीगुन्टा बोकेर हिँडिनँ । त्यसपछि अझ संघर्ष गर्नुपर्छ भन्ने लाग्यो । पार्टीको प्रतिस्पर्धालाई फ्रेन्ड्ली र सामान्य रूपमा लिनुपर्छ ।’
विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताबिचको विभाजन अन्त्य हुनुपर्ने धारणा राख्दै उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने दाबी गरे । पार्टीमा लामो समय योगदान दिएका नेतालाई विभिन्न समितिमा समेटेर लैजानुपर्ने अवस्था रहेको थापाले बताए । उनले नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रहसमेत गरे ।
‘विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विभाजन मेटियोस् भन्ने मेरो एउटा चाहना हो । प्रतिस्पर्धी साथीहरूको नाम हेरौँ, सबै केन्द्रीय कार्यसमितिमा हुनुपर्ने साथी हुनुहुन्छ । यति धेरै साथीहरूले प्रतिस्पर्धा गर्दागर्दै भोलि आठ–नौजना इम्पोर्टेन्ट, पार्टीलाई असाध्यै चाहिने साथीहरू विभिन्न पदमा प्रतिस्पर्धा गर्ने अनि केन्द्रीय समितिबाट बाहिर रहने अवस्था बन्दा उहाँहरूको क्षमता, योग्यता र बौद्धिकता सबै पार्टीले प्रयोग गर्न नपाउने हो कि भन्ने कुरालाई मैले अनुरोध गरेको छु,’ उनले भने ।
निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उनले उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन पनि आग्रह गरेका छन् । थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकारसम्पन्न बनाइएको बताउँदै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिनेतर्फ नेताहरूको ध्यानाकर्षण गराए ।
उम्मेदवारी दर्तापछि राठोरले आफू सभापति निर्वाचित भए पार्टीलाई एकताबद्ध बनाउने बताए । अहिले जित्न नसके पनि १६औँ महाधिवेशनमा जित्ने हिसाबले आफू अघि बढिरहेको उनको दाबी छ । ‘२३ र २४ भदौको घटना, पार्टीभित्र विशेष महाधिवेशन र गत निर्वाचनमा कांग्रेसले हारेका कारणले मलाई धेरै ठुलो गाह्रो पर्यो । त्यसपछि लामो समय नेता–कार्यकर्तासँग जिल्लामै बसेँ । त्यसकारण यो अधिवेशनमा मलाई असर पर्छ नै । अहिले जित्न सकिएन भने पनि १६औँ महाधिवेशनमा जित्ने हिसाबले हिँड्छु,’ उनले भने ।
उनले स्वतन्त्र पार्टीले कांग्रेसलाई कमजोर बनाएको र कम्युनिस्टहरूबिच एकता हुन लागेको अवस्थामा कांग्रेसलाई थप एकताबद्ध बनाएर अघि बढाउने दाबी गरे । ‘स्वतन्त्र पार्टीले हामीलाई भित्तामा पुर्याएको स्थिति छ । कम्युनिस्टहरू मिल्दै छन् । कांग्रेसका फरक–फरक दुईवटा अधिवेशन हुँदै छ । म सभापति भएँ भने कांग्रेसलाई एकढिक्का बनाएर लान्छु,’ उनले भने ।
उनले विगतमा आफूले बोकेका नेताहरूले अहिले साथ नदिएर आफू एक्लै मैदानमा उत्रिनुपरेको गुनासोसमेत गरे । ‘विशेष महाधिवेशनको पक्षधर मात्र होइन, जुन नेताहरूलाई मैले ३५ वर्ष साथ दिएँ, ती नेताले आज मलाई उम्मेदवार बनाएर गगनजीको विरुद्ध लड्न सक्नुपर्थ्यो नि । गल्ती सबैको छ, एकथरीको मात्रै होइन । आज म एक्लै मैदानमा उत्रिएको छु,’ उनले भने ।
वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्मा विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए । १५औँ महाधिवेशनमा उनीविरुद्ध कसैले पनि उम्मेदवारी दिएनन् । महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध भएकी छिन् । महिला उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको हो । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेकी भुसाल देउवा पक्ष परित्याग गर्दै विशेष महाधिवेशनमा सहभागी भएर उपसभापति बनेकी थिइन् ।
खुला उपसभापतिमा नौ दाबेदार : खुला उपसभापति दुई पदका लागि नौजनाको उम्मेदवारी परेको छ । डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले खुला उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । पाण्डे, गिरी र भट्टराई देउवा पक्ष त्यागेर महाधिवेशनअघि संस्थापनतिर लागेका हुन् भने गुरुङ, रिजाल र यादव डा. शेखर कोइराला पक्ष त्यागेर महाधिवेशनमा सहभागी भएका हुन् ।
समावेशी उपसभापतिमा पाँच दाबेदार : समावेशी उपसभापति एक पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गरेका छन् । जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङ देउवा र कर्ण कोइराला पक्ष छाडेर महाधिवेशनमा सहभागी भएका हुन् ।
खुला महामन्त्रीमा आठ दाबेदार : खुला महामन्त्री दुई पदका लागि आठजनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी दर्ता भएका छन् । पौडेल र घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका हुन् भने महर देउवा पक्ष र शर्मा कोइराला पक्ष छाडेर महाधिवेशनमा सहभागी भएका हुन् ।
महिला महामन्त्रीमा तीन दाबेदार : महिला महामन्त्री एक पदका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दर्ता गरेका हुन् । उपाध्याय देउवा पक्ष छाडेर महाधिवेशनमा सहभागी भएकी हुन् ।
सहमहामन्त्रीमा ३२ दाबेदार : सहमहामन्त्रीमा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । खुला दुईसहित नौ क्लस्टरबाट एक–एकजना सहमहामन्त्रीमा निर्वाचित हुनेछन् । खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, रमेश धमला उम्मेदवार छन् ।
महिलातर्फ : प्रतिमा गौतम र नानु बस्तोला, आदिवासी जनजातितर्फ : बहादुरसिंह लामा र तारामान गुरुङ,
दलिततर्फ : प्रकाश रसाइली, नरेन्द्र पासवान, लक्ष्मी परियार र मानबहादुर नेपाली सहमहामन्त्रीका उम्मेदवार छन् ।
यस्तै, मधेशीतर्फ महेन्द्र यादव, अजय चैेरासिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनीष मिश्र र मुक्ताकुमारी यादव,
खसआर्यतर्फ : रामहरि खतिवडा, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी र शुभराम बस्नेत, थारूमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्र चौधरी,
मुस्लिमतर्फ : फिर्दोष आलम, अब्दुल सत्तार र अहतर कमल मुसालमान, पिछडिएको क्षेत्रमा कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर शाही र रामबहादुर विष्ट तथा अल्पसंख्यक/अपांगतातर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आङगेलु शेर्पा सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।
बन्दसत्र खुलामञ्चमा, चहलपहल सभागृहमा
बन्दसत्र जारी रहँदै उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरिएपछि महाधिवेशन प्रतिनिधिहरूको चहलपहल खुलामञ्चभन्दा राष्ट्रिय सभागृहमा देखिएको थियो । मंगलबारको बन्दसत्रमा सभापतिसहित पाँच नेताका प्रतिवेदनमाथि छलफल थियो । तर, बिहान १० बजेदेखि नै सभागृहमा उम्मेदवारी दर्ताको फाराम वितरण गरिन थालेपछि प्रतिनिधिहरू त्यतै ओइरिए । उम्मेदवारी दर्ता गर्ने अन्तिम समय साँझ ७ बजेसम्म सभागृह खचाखच थियो ।
प्रतिस्पर्धा खुला, प्यानल निषेध
कांग्रेसमा प्रतिस्पर्धा गर्न खुला भए पनि प्यानल बनाउन भने निषेध गरिएको छ । विगतमा गुट–उपगुटले कांग्रेस बिग्रिएको निष्कर्षसहित यसपटक प्यानल नबनाउने निर्णयमा पुगेको उपसभापति पुष्पा भुसालले बताइन् । ‘लोकतान्त्रिक पार्टी कांग्रेसमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । विगतमा जस्तो प्यानल यसपटक बन्दैन,’ उनले भनिन् । उम्मेदवारहरूले विगतमा जस्तो प्यानलका लागि भोट मागेका छैनन् । उनीहरू व्यक्तिगत रूपमा भोट माग्दै हिँडेका छन् ।