पूर्वप्रधानन्यायाधीश जबरामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण
  • चोलेन्द्रका भाइ प्रभुशमशेर, पूर्वन्यायाधीश नवराज थपलिया, नारायण दाहाल, दीपक तिमल्सेना र नवीनराज बस्नेतको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको खानतलासी 

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीनिकट समूहमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । विभागले बुधबार जबराका निकटस्थ देखिएका पाँच व्यक्तिको घरमा खानतलासी गरेको हो । विभागले जबराका भाइ प्रभुशमशेर, पूर्वन्यायाधीश नवराज थपलियासहित नारायण दाहाल, दीपक तिमल्सेना र नवीनराज बस्नेतको घरमा छापा हानेको हो ।

पूर्वप्रधानन्यायाधीश जबरासँग शंकास्पद कुराकानी र कारोबार देखिएको आधारमा थप प्रमाण संकलनका लागि उनीहरूको घरमा खानतलासी गरिएको विभागका एक अधिकारीले बताए । जसमध्ये थपलिया बर्खास्तीमा परेका उच्च अदालत पाटनका न्यायाधीश हुन् । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि न्यायपरिषद्ले ०८१ फागुनमा बर्खास्त गरेको थियो । जबरा प्रधानन्यायाधीश छँदा थपलिया विश्वासपात्र भएर पाटन उच्च अदालतमा कार्यरत थिए ।

त्यस्तै, बस्नेतमाथि यसअघिदेखि नै विभागले छानबिन गर्दै आएको थियो । रातारात करोडपति बनेका उनको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा पनि हाल छानबिन भइरहेको छ । उनको पूर्वप्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेरसँग सामिप्यता छ । त्यस्तै, दाहाल र तिमल्सेनाले पनि मुद्दामा चलखेल गर्ने सूचनाका आधारमा विभागले छानबिन थालेको छ । तर, उनीहरूको घरबाट के–के बरामद गरिएको भन्ने विभागले गोप्य नै राखेको छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई गत १० असोजमा प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । उनलाई ११ घण्टा नियन्त्रणमा लिएर छाडिए पनि अनुसन्धान भने जारी राखिएको छ । उनका निकटस्थमाथि विस्तृत छानबिन गरी पर्याप्त आधार भेटिएमा सम्पत्ति शुद्धीकरणको कसुरमा जबरालाई पनि तान्ने तयारी भइरहेको स्रोत बताउँछ । खासगरी भाइ प्रभुशमशेरको नाममा पछिल्ला वर्षमा करोडौँको सम्पत्ति जोडेको उजुरी विभागमा छन् ।

प्रहरीले जबरानिकट भएर बिचौलियाको काम गर्ने इनाम सापकोटालाई पनि थुनामै राखेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनको मोबाइल र ल्यापटप जफत गरी शंकास्पद कारोबारका प्रमाण संकलन गरिरहेको छ । उनकै मोबाइलमा भेटिएको प्रमाणका आधारमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथि छानबिन गरी जाँचबुझ भइरहेको छ । उनले मुद्दाका विषयमा डिल गर्नेदेखि विभिन्न प्रकारका सूचना चोलेन्द्रकहाँ पठाउने गरेको प्रारम्भिक छानबिनमा खुलेको छ ।

पदमा रहँदा भ्रष्टाचारलगायतको गम्भीर आरोप लागेपछि जबराविरुद्ध महाअभियोग लागेको थियो । त्यसपछि उनी बहिर्गमनमा परेका थिए । त्यतिवेला जबराविरुद्ध नेपाल बार एसोसिएसनले समेत आन्दोलन गरेको थियो भने न्यायाधीशहरूले नै उनलाई बहिष्कार गरेका थिए ।

पछिल्लो समय बिचौलिया दीपक भट्टलगायतका मुद्दा मिलाइदिने भनेर डिल गरेको सूचना प्रधानमन्त्री कार्यालयमा पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक छानबिनमा शंकास्पद कुराकानी र कारोबारका विवरणहरू भेटिएको स्रोत बताउँछ । सोही कारण पनि उनले आफूलाई नियन्त्रणमा लिएर छाडिएको विषयमा केही बोलेका छैनन् । जबरा र उनीनिकट समूहमाथि विस्तृत छानबिन भएपछि सो समूहमा रहेका केही व्यक्तिहरू भने भागिसकेको प्रहरी स्रोत बताउँछ ।

इनाम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणमा म्याद थप 
बिचौलियाको काम गरेको अभियोगमा पक्राउ परेका इनाम सापकोटाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराई सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप गरेको हो ।

‘अदालतले एक दिन मात्र म्याद दिएको छ,’ परिसरका एक अधिकारीले भने, ‘भोलि फेरि उपस्थित गराउँछौँ ।’ झापा घर भएका सापकोटा एक दूतावासका कर्मचारी भएको स्रोत बताउँछ । पूर्वप्रधानन्यायाधीश जबरासँग शंकास्पद सम्बन्ध देखिएपछि प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । उनको मोबाइलमा मुद्दासँग सम्बन्धित आर्थिक डिलका विवरण भेटिएको छ । प्रहरीले उनको सेयर, बैंक खाता तथा सम्पत्ति रोक्काको प्रक्रिया अघि बढाइसकेको छ । 

सुझावित समाचार