एकातिर देशको राजनीतिले हैरान पारेको छ, अर्कातिर महिलामाथि दिनदिनै घटिरहेका अपराधजन्य घटनाले जनता आक्रोशित छन् । कहिलेसम्म नेपाल आमाले आफ्ना छोरीहरू गुमाइरहने ? माया विक, कविता विष्ट, (कैलाली), निर्मला पन्त (कन्चनपुर), सम्झना कामी –बझाङ) र भागरथी भट्ट (बैतडी) सम्मका घटनाले गम्भीर प्रश्न उठाइदिएको छ– के यो देश महिलाको चाहिँ होइन ?
जुन देशमा महिला राष्ट्रपति छन्, त्यही देशमा निर्मला पन्तहरूले न्याय नपाइरहेको दृष्टान्तको कमी छैन । निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पीडितको न्यायका लागि सडकदेखि सदनसम्म तात्यो । तर, दोषीलाई पक्राउ गर्न अझै सकिएको छैन । नेपालको संविधान ०७२ को भाग ३ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी व्यवस्था गरिएको भए पनि समाजमा महिलामाथि भइरहेका हिंसाका घटनाले संवैधानिक व्यवस्थालाई नै गिज्याइरहेका छन् । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाका सिकार भइरहेका छन् ।
प्रत्येक दिन कैयौँ निर्दोष बालिका, किशोरी तथा महिला समाजमा हिंसाको सिकार भइरहनुपरेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, अधिकारबाट वञ्चित गर्ने–गराउने, आत्मसम्मानमा चोट पु¥याउनेजस्ता घटना भइरहेका छन् । संविधानको धारा १७ मा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ, तर महिला कतै पनि स्वतन्त्र छैनन् । दिनदिनै यस्ता घटना घट्नुका कारण नारी कमजोर भएर हो भन्ने हो भने पनि नारी कहाँ कमजोर छन् ?
हाम्रो समाजमा छोरीलाई पटक–पटक नैतिकताको पाठ पढाइन्छ, तर छोरालाई भने ‘छोरो हो, यति त गरिहाल्छ नि’ भनेर उचालिन्छ । परिणामतः त्यही छोरो पछि गएर बलात्कारी बन्छ । तैपनि, हाम्रो समाज उसको बचावटमा पीडित छोरीहरूमाथि नै अनेक अनर्गल दोषारोपण गरिरहेका हुन्छन् ।
कलिला बालिकादेखि वृद्धासम्मको बलात्कारका घटना सुन्दा एक पुरुष पात्र हुनुको नाताले लज्जाबोध गराउँछ । सम्पूर्ण इज्जतको जिम्मा महिलाको मात्र हो भन्ने व्याख्या समाजले गरिरहेको हुन्छ । जहाँ सीताले मात्र पटक–पटक आफ्नो चरित्रको शुद्धता प्रमाणित गर्न अग्निकुण्डमा हामफाल्नुपर्छ तर रामले पर्दैन । हामीले कस्तो ‘संस्कार’को विकास गरिरहेका छौँ, जहाँ छोरी–चेलीको कुनै सुरक्षा छैन ?
आज हाम्रो समाजमा दाइजोप्रथाका कारण महिलामाथि चर्को हिंसा हुने गर्छ । तराई मधेसमा त दाइजो लिने परम्पराले गर्दा महिलाले थप मनसिक तथा शारीरिक पीडा खप्नुपर्ने बाध्यता छ । दाइजो कम भएका कारण कैयौँ चेलीले हिंसाको सिकार बन्नुपरिरहेको छ । कैयौँले ज्यानै गुमाउनु पनि परेको छ ।
संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी व्यवस्था गरिएको भए पनि समाजमा महिलामाथि भइरहेका हिंसाका घटनाले संवैधानिक व्यवस्थालाई नै गिज्याइरहेका छन्
महिला पुनस्र्थापना केन्द्र (ओरेक) का अनुसार १६ वैशाख ०७८ देखि १५ असारसम्म अभिलेखीकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५१ प्रतिशत २५६ घरेलु हिंसा, १० प्रतिशत (५१ वटा) सामाजिक हिंसा, २० प्रतिशत (सय वटा) बलात्कार, १ प्रतिशत (६ वटा) बलात्कार प्रयास, ३ प्रतिशत (१५ वटा) यौन दुव्र्यवहार, ६ प्रतिशत (३० वटा) हत्या, २ प्रतिशत (१० वटा) हत्या प्रयास, १ प्रतिशत (७ वटा) आत्महत्या, १ प्रतिशत (६ वटा) मानव बेचबिखनलगायत घटना संकलन भएका छन् । यसैगरी ५ प्रतिशत (२३ वटा) अन्य हिंसाका घटना छन् । जसमध्ये ३ वटा आत्महत्या प्रयास, ३ वटा एसिड आक्रमण, १६ वटा अलपत्र पारिएका र एउटा विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेका छन् । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ४६ प्रतिशत (२३४ जना) श्रीमान् नै रहेका छन् । १८ प्रतिशत (८९ जना) परिवारका सदस्य र १९ प्रतिशत (९४ जना) छिमेकी रहेका छन् ।
यौन हिंसाजन्य अपराध न्यूनीकरणका लागि भएका कानुनको उचित कार्यान्वयन तथा थप कडा कानुन निर्माण र कार्यान्वयन जरुरी छ । साथै, आर्थिक मोलमोलाइबाट पीडितलाई थप पीडित बनाउने र पीडकलाई उन्मुक्ति दिलाउने घटना पनि हाम्रो समाजमा वेलावेलामा देखिने गर्छन् । यसको दुरुत्साहनका लागि पनि कडा कानुनको खाँचो देखिन्छ ।
नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ, साथै सोही धाराको उपधारा (३) मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन भनिएको छ । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । तर, यिनै धारा र उपधारा पनि व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन् ।
जबसम्म सिंगो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैनन्, तबसम्म यस्ता घटना न्यूनीकरण गर्न सम्भव छैन । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । पुरुषप्रधान समाज र परम्परागत सोचमा परिवर्तन ल्याई महिला हिंसाविरुद्ध सबै एक हुनु जरुरी छ ।