चित्रहरूले बल्ल पाए ग्यालरी

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण
चित्रहरूले बल्ल पाए ग्यालरी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनी । तस्बिर : नयाँ पत्रिका

कलाकार भन्छन्– खुला आकाशमा आएको महसुस भइरहेछ 

कलाकार भाइराज महर्जनले एक वर्षभन्दा बढी समयदेखि आफूले कोरेका चित्र स्टुडियोको कुनामा थन्क्याएर राखेका थिए । कोरोना महामारीका कारण ग्यालरीमा प्रदर्शनी गर्न नपाएपछि उनका सिर्जना कोठामै थन्किएका थिए । तर, झन्डै दुई वर्षपछि आर्ट ग्यालरीमा कला प्रदर्शनी आयोजना हुँदा उनको खुसीको सीमा छैन । उनी भन्छन्, ‘प्रदर्शनी गर्न पाउँदा आनन्द महसुस भएको छ ।’ भौतिक रूपमा दर्शकसँग धेरै पछि साक्षात्कार गर्ने अवसर मिलेको महर्जनले सुनाए । कोरानाकालमा आफूलाई सिर्जनात्मक बनाए पनि कामलाई बाहिर ल्याउन नपाउँदा कलाकारहरू निराश बनेका थिए । आफ्नो सिर्जना प्रदर्शनीमा राखेपछि पुरानै लयमा जिन्दगी फर्किएको महसुस गरेको उनले बताए । 

कुशल हमाल, कलाकार - धेरै पछि भौतिक रूपमा प्रदर्शनी भएको छ । फेरि आर्टको बजार आएको जस्तो लागेको छ । कोठाभित्रै बस्नुपर्ने अवस्था थियो । स्टुडियोमा मात्रै थन्किनुपर्ने अवस्था थियो । अब हामीलाई खुसी लागेको छ ।

महामारीबीच अधिकांश कलाकारले आफ्ना सिर्जना ग्यालरीमै थन्क्याइरहेका थिए । केही दिनयता उनीहरूको चित्र ग्यालरीमा सजिने अवसर पाएका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ई–आर्टस् नेपालको आयोजनामा हिमालयन आर्ट फेस्टिभल जारी छ । फेस्टिभलमा ६५ जना नेपाली कलाकारको कला प्रदर्शनीमा राखिएको छ ।

यसअघि चाहेर पनि ग्यालरीमा चित्र प्रदर्शनी गर्न सक्ने अवस्था नरहेको कलाकार आशा डंगोलको भनाइ छ । ‘हुन त अहिले पनि अवस्था सहज छैन । तर, हामीले जोखिम मोलेर फेस्टिभलको आयोजना गरेका हौँ’, उनी भन्छिन्, ‘फेस्टिभलमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । यो फेस्टिभल अघिल्लो साल पनि हुन पाएको थिएन । यो वर्ष भने कलाकारलाई भौतिक रूपमै कला प्रदर्शनीसँग साक्षात्कार गराउन खोजेका छौँ ।’

कोरोना महामारीले गर्दा गत वर्ष फेस्टिभल रोकिएको थियो । ‘आर्ट सिर्जनात्मक काम भएकाले सिर्जनासँगै बिक्री र कलाकारको क्षमताको मूल्यांकन हुन्छ । त्यसैले चित्रको पारखीले सहजै आर्टसम्म पुग्न सकून् भनेर फेस्टिभल आयोजना गरेको हो,’ डंगोल भन्छिन्, ‘कोरोना कहरपछि यो सबैभन्दा ठूलो स्केलको आर्ट प्रदर्शनी हो । यसपटक युवा कलाकारहरूको चित्रलाई प्राथमिकता दिइएको छ ।’ ग्यालरीमा ‘विदेश जाने हे युवाहरू स्वदेश फर्क’ भन्ने मूल नारासहितका चित्र प्रदर्शनीमा छन् । 

आर्ट फेस्टिभल : कलाकारको चाड
कलाकार प्रमिला बज्राचार्य पनि करिब दुई वर्षपछि कला प्रदर्शनीसँगै दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाएकोमा निकै हर्षित छिन् । ‘आर्ट लभरहरूसँग सेयर गर्न पाउँदा निकै खुसी भएकी छु’, उनी भन्छिन्, ‘आर्ट फेस्टिभल कलाकारको चाड हो । कोरोना महामारीले निकै गाह्रो भएको थियो । भविष्य पनि अँध्यारो देख्न थालिसकेका थियौँ । तर, अब केही राहत मिलेको छ ।’ उनले महिलाको ‘थिम’ प्रमुख बनाएर चित्र कोरेकी छन् । महिलालाई समाजमा गर्नुपर्ने संघर्षमाथि चित्र प्रस्तुत गरेकी छन् । 

प्रमिला बज्राचार्य, कलाकार- करिब दुई वर्षपछि कला प्रदर्शनीसँगै दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाएकोमा निकै हर्षित छौं । आर्ट लभरहरूसँग अनुभव सेयर गर्न पाउँदा निकै खुसी भएकी छु । आर्ट फेस्टिभल कलाकारको चाड हो । कोरोना महामारीले निकै गाह्रो भएको थियो । भविष्य पनि अँध्यारो देख्न थालिसकेका थियौँ । तर, अब केही राहत मिलेको छ ।

प्रदर्शनीले कलाकारमा उमंग
कलाकार एरिना ताम्राकारले स्टुडियोमै थन्किएका चित्र प्रदर्शनी गर्न पाउँदा खुला आकाशमा आएको जस्तो महसुस भएको सुनाइन् । ‘कोरोना महामारीले बजार खुम्चिएको थियो । कलाकारमा अन्योल बढिरहेको थियो,’ उनी भन्छिन्, ‘अब एउटा माहोल सिर्जना हुन लागेको छ, जसले हामीमा उमंग छाएको छ ।’ 

यसअघि डिजिटल प्लेटफर्ममा प्रदर्शनी भए पनि कलाको अनुभूत गर्न नपाएको ताम्राकारको बुझाइ छ । अहिले ग्यालरीमा दर्शकसँग साक्षात्कार गर्न पाउँदा निकै आनन्द आएको उनले सुनाइन् । 

कलाकार जस्मिन राजभण्डारीको पनि एरिनाको जस्तै अनुभव छ । उनी आगामी दिनमा चित्रहरू स्टुडियोमै थन्क्याउनु नपरोस् भन्छिन् । ‘हामीले चित्र त बनाइरहेका थियौँ । तर, बजार ठप्प थियो । आफ्नो सिर्जना बाहिर ल्याउन सकेका थिएनौँ । प्रदर्शनीले आकाश खोलिदिएको छ,’ उनले भनिन् । 

ग्यालरीमा प्रदर्शनी गर्न भनेर कलाकार कुशल हमालले चित्रका माध्यमबाट स्वतन्त्रता खोजेका छन् । उनले दिन खोजेको सन्देश प्रदर्शनीमा प्रस्ट देखिन्छ । ‘मैले चित्रमार्फत हाम्रो समाजमा स्वतन्त्रता छ वा छैन भन्न खोजेको हो । धेरै पछि भौतिक रूपमा प्रदर्शनी भएको छ । फेरि आर्टको बजार आएको जस्तो लागेको छ । कोठाभित्रै बस्नुपर्ने अवस्था थियो । स्टुडियोमा मात्रै थन्किनुपर्ने अवस्था थियो । अब हामीलाई खुसी लागेको छ,’ उनले भने । 

कलाकारका लागि आर्ट ग्यालरी प्रदर्शनी निकै महत्वपूर्ण थलो हो । ‘कोरोना कहर कलाकारका लागि सिर्जनात्मक काम गर्न निकै फलदायी बन्यो । तर, आर्थिक अभावले दिएको पीडा पनि कम दुःखदायी रहेन । अहिले फेरि पुरानै दिनमा आएको महसुस भएको छ,’ हमालले भने ।

See More On

सुझावित समाचार