पर्यटन प्रवर्द्धनका लागि नेपालले मलेसियासँग सहकार्य गर्ने

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

नेपालले मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।

मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एकअर्को देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिएका छन् । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका सिइओ रेग्मीले कोभिड–१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै 'बि-टु-बी'का माध्यमबाट दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे । उनले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए ।

भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सञ्चालन गर्न सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताए । उनले मलेसिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुबै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफूले प्रसास गर्ने धारणा राखे ।

बोर्डले कोभिडकैबीचमा पनि नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्यान्ड र श्रीलंकाका राजदूतसँग छलफल गरेको थियो । रासस

सुझावित समाचार