ओलीको ‘राजर्षि शैली’लाई माधवको कटाक्ष : वाह ! हाम्रो महाराजाधिराज कति खुसी भएछन्, आम माफी दिएछन्, नाच्नुपर्ने भो

शनिबार, ९ साउन, २०७८
डिजिटल संस्करण

‘राजर्षि शैली’मा आममाफीको घोषणा गरेको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको कठोर आलोचना गरेका छन् । ओलीको निरंकुश र हुकुमी शैलीमा सुधार नआएको भन्दै नेपालले आत्मसमीक्षा गरेको अवस्थामा मात्र पार्टी एकताबद्ध बनाउने प्रयास सफल हुने प्रस्ट्याएका छन् । 

‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो– माधव नेपाललगायत माननीय सदस्यमाथि जे–जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ, एम्नेस्टी इज ग्यारेन्टेड । महाराजाधिराज बोल्नुभएको छ, हामी त गद्गद् भयौँ । वाह ! वाह ! हाम्रो महाराजाधिराज कति खुसी भएछन् !’ ओलीको आममाफी घोषणाको जवाफ फर्काउँदै नेपालले भने, ‘हामीलाई आममाफी दिनेछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसैलाई कम्युनिस्ट प्रवृत्ति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरेँ, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’

४३औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालले एकताका लागि आफूले संयमता अपनाउँदाअपनाउँदै पनि ओलीमा सुधारको अझै गुञ्जायस नदेखिएको अनुभव सुनाए । ‘म त मान्छे (ओली) सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, केही नबोलेर हिजो (बिहीबार) पुष्पलाल स्मृतिसम्बन्धी चम्पादेवीको कार्यक्रममा मैले मिठो–मिठो शब्द मात्र निकालेँ । एउटा शब्द पनि तलमाथि ननिस्क्योस् भन्ने सोचेँ,’ नेपालले भने, ‘छेउमा बसेका साथीहरूले इसारा गरिरहनुभएको छ– कमरेड, ख्याल गरेर बोल्नुहोला भनेका छन् । ख्याल गरेरै बोलेको छु ।’

बादशाहलाई घोडाबाट झारेपछि पनि उस्तै अहंकार

सत्ताच्युतपछि पनि ओलीमा दम्भ र अहंकार उस्तै रहेको भन्दै नेपालले आफूलाई अझै गुन्डा देखाएर तर्साउन खोजे पनि समर्पण नगर्ने सुनाए । ‘दिउँसो (बिहीबार) म भक्तपुरमा गएँ । एक हजार एक सदस्यीय पिपुल्स भोलन्टियर्स घोषणामा मैले भनेँ– डनगिरी नसिक्नू, सताउने काम नगर्नू, अनि माधव नेपालको घरको वरिपरि गएर बाँदर जुलुस निकाल्ने बाँदरे–प्रवृत्ति नबोक्नू,’ नेपालले भने, ‘माधव नेपालको घरछेउ रिङरोडमा राति १० बजेको समयमा २०–२५ जना पुगेका थिए । म ठ्याक्क त्यो ठाउँबाट झर्दा देखेँ– बाफ रे बाफ उपरखुट्टी लगाएर मोटरसाइकलमा बसेका ! माधव नेपाल तर्साउँदा तर्सिने मान्छे हो ? कोही तर्सिनेवाला छैन । हामी विशेष धातुले बनेका मान्छे हौँ । स्टालिनले भनेझैँ कम्युनिस्ट विशेष धातुले बनेका हुन्छन्, सबैलाई चेतना भया ! त्यसैले बादशाहलाई घोडाबाट तल झारेपछि पनि हुँदोरहेनछ, अहंकार हुँदोरहेछ, उही प्रवृत्ति रहने रहेछ ।’ 

यद्यपि, नेपालले आफू सिंगो पार्टीलाई एकताबद्ध बनाउने पक्षमा रहेको र अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता सम्भव नभए राष्ट्रियता, जनजीविकालगायतका सवालमा कार्यगत एकताको पक्षमा रहेको प्रस्ट्याए । ‘हामी सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ । सिंगै पार्टी एकताबद्ध हुन सक्दैन भने सहकार्य गरेर जान चाहन्छौँ । मतभिन्नताका बीचमा पनि एकताको सम्भावनाको खोजी गर्छौँ,’ नेपालले भने, ‘राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, विकास निर्माण र भ्रष्टाचारलगायतका विषयमा कार्यगत एकता गरेर जान सक्छौँ । आन्दोलनलाई त्यसरी लैजानुपर्ने आवश्यकता पनि छ ।’

साउन ३ मा ठूलो षड्यन्त्र थियो, राजनेताको डंका पिटाउने सोच पराजित भो 

नेपालले ३ साउनमा फेरि संसद्लाई विघटनमा पु¥याएर राजनेताको डंका पिटाउने ओलीको ठूलो षड्यन्त्र पराजित भएको पनि दाबी गरे । ‘साउन ३ मा अर्को ठूलो षड्यन्त्र हुनेवाला थियो । हुँदाखाँदाको संसद् पटक–पटक भंग गरियो, यो नेपालको इतिहासमा त आफैँमा अनुपम छँदै छ, संसारमा पनि विरलै पाइन्छ । एउटा प्रधानमन्त्रीले संसद्लाई एकचोटि सिध्याएको छ, सकेन फेरि सिध्याएको छ, फेरि सिध्याएको छ । ब्युँतिँदा नैतिक दायित्व बोक्दा पनि बोक्दैन,’ नेपालले भने, ‘५ पुसको विघटन ठीक भन्ने पुष्टि गर्न ३ साउनमा फेरि गम्भीर षड्यन्त्र भएको थियो । जसरी पनि शेरबहादुरको सरकारले विश्वासको मत नपाओस्, नपाएपछि विघटनका सबै कदम ठीक थिए, दूरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने सोच थियो । त्यसलाई हामीले असफल बनाएका छौँ ।’

२३ सांसदलाई लालसलाम, ८३ सांसदप्रति सहानुभूति

नेपालले संसद् जोगाउन भूमिका खेल्ने वरिष्ठ नेता झलनाथ खनालसहित २३ सांसदको भूमिकाको उच्च प्रशंसा गरे । ‘म ती सबै २२ जना, मसँगसँगै जोडिएका सबै योद्धालाई अभिवादन गर्न चाहन्छु, लालसलाम गर्न चाहन्छु । २२ होइन कमरेड जेएन खनाल पनि जोडिनुभएको छ । बाँकी ११ जना, उहाँहरूलाई पनि सलाम गर्न चाहन्छु, कमसेकम विपक्षमा भोट खसाल्नुभएन, अभिवादन गर्न चाहन्छु,’ नेपालले भने, ‘बाँकी ८३ मध्ये पनि मनै नलागेर, अनुशासनको प्राविधिक पक्ष सोचेर, के पो होला पुरानो संगत भन्ने सोचेर, नेताले के गर्लान् भन्ने ठानेर, बाध्य भएर जानेप्रति पनि सहानुभूति व्यक्त गर्दछु र सिंगो संसद्मा रहेका सांसदलाई पनि विशेष धन्यवाद दिन्छु ।’

नेपालले संसद् जोगाएर संविधानको रक्षा, कार्यपालिका र न्यायपालिकाको गरिमाको रक्षा गरेर न्यायोचित काम गरेकोमा गौरवबोधका अनुभूति भएको पनि बताए । ‘संविधानसम्मत त्यस्ता काममा हामीलाई गौरवबोध छ,’ नेपालले भने ।

ओली पार्टी नेतृत्वमा अयोग्य भएको सन्देश 
वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको नेतृत्वक्षमतामाथि समेत प्रश्न उठाएका छन् । ‘यत्रो दुईतिहाइ पाएको कम्युनिस्ट पार्टी, एमाले एक सय २१ सिटबाट घट्दाघट्दा ८३ मा पुगेको छ, अझै कति घट्ने हो ठेगान छैन । जसले आफ्नो घर सम्हाल्न सक्दैन, आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन, पार्टीको अन्तर्विरोधको ठीक पहिचान गर्न सक्दैन । त्यसले समाजको अन्तर्विरोधको समाधान गर्न सक्छ ?’ नेपालले प्रश्न गरे ।

समय घर्किँदै छ, अविश्वासको खाडल पुर्नुस् 
पार्टीभित्रको अहिलेको अन्तर्विरोध पद र प्रतिष्ठासँग नजोडिएको प्रस्ट्याउँदै नेपालले मूल कारण ओलीसँग चरम अविश्वास भएको खुलाए । उनले अविश्वासको खाडल गहिरिएकाले तथ्यका आधारमा चिरफार गरेर छिटो एकताका लागि तयार हुन ध्यानाकर्षण मात्रै गराएनन्, अन्यथा समय घर्किने कडा चेतावनीसमेत दिए ।
‘पार्टीको अन्तर्विरोधको मूल कारण खोजी गर्नुस् । अन्तर्विरोध पद–प्रतिष्ठा र इगोको लडाइँको होइन, यो वैचारिक मान्यता र वैचारिक विचलनसँग जोडिएको लडाइँ हो । पार्टीभित्र देखा परेका अनेकखाले विकृति–विसंगति, नीति–विचार र विधि–आचरणसँग जोडिएको अन्तर्विरोध हो, यसको ठीक पहिचान गर्नुस्,’ नेपालले भने, ‘आपसी विश्वासको पक्ष पनि छ । किनभने हाम्रो व्यवहारले ठूलो अविश्वासको खाडल पैदा गरेको छ । एकसेक एक तथ्य–प्रमाण सामुन्ने छन् । त्यसकारण ती सबैको गहिरो चिरफार गर्नुस्, समय धेरै गइसकेको छ ।’ 

नेपालले वास्तविक धरातलमा उभिएर आत्मसमीक्षासहित नेपालका सबै कम्युनिस्ट घटक मिलेर एकीकृत रूपमा आन्दोलन अगाडि बढाउनुपर्ने खाँचो पनि औँल्याए । ‘एमाले होस् या अरू कुनै पार्टीले आत्मविश्लेषण गर्ने वेला आएको छ, किनभने जनताको मन जित्न सकिएको छैन । मन जितेकोबाट पनि टाढिँदै छौँ । जनताले किन आलोचना र घृणा गरिरहेका छन् ? सबैमा गहिरो आत्मसमीक्षा गरौँ,’ नेपालले भने ।

कम्युनिस्ट नेताहरूको जोड– पद–प्रतिष्ठा त्यागौँ, संसद् र सडक दुवैतिर कार्यगत एकता गरौँ 
कम्युनिस्ट आन्दोलनमा देखिएको संकट र अबको बाटो विषयक प्रवचनमा वाम नेताहरूले अहिले देखिएको सैद्धान्तिक, वैचारिक संकट हल गर्दै सदन र सडक दुवैतिर कम्युनिस्ट पार्टीबीच कार्यगत एकता भएको खण्डमा मात्र मुलुकको कम्युनिस्ट आन्दोलन सही दिशामा अगाडि बढ्न सक्ने सम्भावना औँल्याएका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टीमा विचारको संकट देखिएको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र विचार र सिद्धान्तको संकट देखिएकै कारण बेग्लै सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको केसीको भनाइ छ । ‘जनतालाई मीठा भाषण सुनाउन हामी माहिर छौँ, कम्युनिस्ट आन्दोलनमा राजनीति र सिद्धान्तको संकट छ । जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट अब कसरी छुट्याउने ? त्यसैले कम्युनिस्ट आन्दोलनभित्रै सांस्कृतिक आन्दोलनको जरुरी छ,’ केसीले भने ।

पाँच वर्षसम्म बाहिर बस्नुपरेकाले प्रतिपक्ष निराश बनेको अवस्थामा नेपाली जनताले दिएको झन्डै दुईतिहाइको विश्वासको मतअनुसार काम गर्न नसकेर कम्युनिस्ट पार्टी चुकेको भन्दै उनले राष्ट्रियता, जनजीविकालगायत प्रश्नमा काम गर्न नसकेकाले जनताले कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टी छुट्याउन नसकेको बताए । संसद् विघटन गरेर ०७२ को संविधान च्यातचुत हुँदा पनि राष्ट्रिय जनमोर्चाले वामपन्थी मिलेर सरकार चलाउनुपर्ने वकालत गरेको भन्दै केसीले तर त्यो सम्भव नभएको बताए । 

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न प्रस्ताव गरेका छन् ।

‘यहाँ सबै कम्युनिस्ट पार्टी मिल्ने भन्नुभो । तर, मेरो विचार के हो भने, संसद् र सरकारमा जाने र सडकमा रहने कम्युनिस्टले एउटा–एउटा काम गरौँ, तालमेल गरौँ, सरकारमा भएकाले सडकमा भएकालाई दमन गर्नुभएन । एक–अर्कासँग कार्यगत एकता गरेर राम्रैसँग अगाडि बढ्न सकिन्छ,’ वैद्यले भने, ‘प्रचण्डजी यहाँ आउनुभएन, माधवजी हुनुहुन्छ, तपाईंहरूले कोर्स चेन्ज गर्नुस्, यही संसद् पकडेर कतिपटक प्रधानमन्त्री हुने ? प्रधानमन्त्री बन्ने लोभ छोड्नुस्, देश र जनताको हित सोच्नुस् । सकिन्छ भने कोर्स चेन्ज गरेर सबैलाई क्रान्तिकारी बनाऊँ, सकिन्न भने सडकमा भएका कम्युनिस्टबीच तालमेल गरेर क्रान्ति गरौँ ।’ 

उनले कम्युनिस्ट पार्टीहरूको अबको बाटो यही संसद्लाई बचाएर सबै कम्युनिस्ट मिलेर चुनाव लड्ने भन्ने हो भने आफूहरू सहमत हुन नसक्ने बताए । ‘संसद्का लागि लड्ने होइन, तर संसद् चिरञ्जीवी भएर समस्याको समाधान हुँदैन ।’

उनले कम्युनिस्ट पार्टीहरूमा संसद्वादी, क्रान्तिकारी र मध्यपन्थी संशोधनवादी तीनवटा धार रहेको बताए । डबल नेकपा संसद्वादी भएकाले सैद्धान्तिक हिसाबले फुट्नुको कुनै कारण नरहेको धारणा राख्दै उनले ओलीमा कार्यशैलीगत समस्या र नेताहरूको टकराव र इगोका कारण फुटे पनि मिल्न सुझाब दिए । क्रान्तिकारी धारका नयाँ जनवादी व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था मान्ने कम्युनिस्ट धार कमजोर भए पनि मिल्ने कोसिस गर्दा पनि आफूहरू पनि अझै सफल नभएको वैद्यको भनाइ थियो । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामूहिक नेतृत्व प्रणालीको सट्टा नेतृत्वमा हुर्किएको व्यक्तिवादी र गुटवादी सोचले नेपालको कम्युनिस्ट आन्दोलन धराशायी भएको बताइन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर बढ्नैपर्छ । तर, यो आन्दोलनभित्र विचारको छलफल, नीतिको छलफल, सिद्धान्तको छलफल, सामूहिक नेतृत्वबारे कति छलफल हुन्छ ? यही कमजोरीका कारण कम्युनिस्ट आन्दोलनले व्यक्तिवादी, गुटवादी सोचले धराशायी हुँदो रहेछ भन्ने लागेको छ ।’

उनले अबका दिनमा सबै कम्युनिस्ट पार्टीले आफ्नै पार्टीभित्र सिद्धान्त, विचार, जनमुखी सोच, राष्ट्रियताबारे गम्भीर बहस र छलफल गर्न सकेको अवस्थामा मात्र नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुन सक्ने बताइन् ।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ठूलो जोखिम मोलेर कम्युनिस्ट नैतिकता, आदर्श, संविधान र लोकतान्त्रिक गणतन्त्र बचाएको भन्दै प्रशंसा गरेका छन् । कार्यक्रममा जोशीले त्यत्रो जोखिम मोलेर कम्युनिस्ट आदर्श बचाउने नेतालाई विभाजनकारी भनेर दुष्प्रचार गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।

‘आजको अवस्थामा माधव नेपाल कमरेडप्रति मेरो श्रद्धा छ, जसले तरबारको धारमा हिँडेर पनि कम्युनिस्ट आदर्श, नैतिकता बचायो, तर बहुत दुःखका साथ भन्छु, स्वयं माधव नेपाल धोकाधडी खाने स्थितिमा हुनुहुन्छ । उहाँमाथि अनेक दबाब छ, एमाले विभाजन गर्न खोजेको भनेर दुष्प्रचार गर्न खोजिएको छ,’ जोशीले भने, ‘कमरेड प्रचण्ड र चित्रबहादुर केसीको साथमा त सिंगो पार्टी थियो, तर कमरेड माधव नेपालले पार्टी विभाजित जस्तो अवस्थामा पनि कम्युनिस्ट नैतिकता, लोकतन्त्र, गणतन्त्र जोगाउन बलिदान दिएर अघि बढ्ने साहस देखाउनुभो, उहाँ श्रद्धा र धन्यवादको पात्र हुनुहुन्छ ।’ 

आफूले १४ वर्ष केशरजंग रायमाझीको राजसंस्थातिर ढल्किने रुझानसँग संघर्ष गरेकाले सही विचारका लागि अन्तर्संघर्ष कति कठिन हुन्छ भन्ने भोगेको स्मरण गर्दै उनले माधव नेपालकै नेतृत्वमा सिंगो एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्ने पनि बताए । 

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा रहेकाले विकल्प खोज्नुपर्ने बताए । ‘देशमा आन्दोलन, परिवर्तन भयो, तर आधारभूत परिवर्तन भएन । नेपाली जनताको हातमा शासन, राज्य प्रणाली पुगेन किनभने अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा छ,’ बाँस्तोलाले भने, ‘त्यसैले संसदीय व्यवस्थाको विकल्प खोजेर अगाडि बढ्यो भने मात्र ठीक ठाउँमा पुग्न सकिन्छ ।’

उनले अहिलेको व्यवस्थामा जसले पैसाको बढी चलखेल गर्यो उही नेता प्रधानमन्त्री बन्ने अवस्था रहेको जिकिर गर्दै संसदीय विकृत खेल र आपसी आरोप–प्रत्यारोपले जनतामा राजनीतिक पार्टी र नेताहरूमाथि नै अविश्वासको अवस्था रहेको बताए । अहिलेको भ्रष्ट व्यवस्था बदलेर राज्य प्रणाली बलियो नबनाएसम्म देश भ्रष्टाचारमुक्त हुन नसक्ने उनको भनाइ थियो ।

पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष तथा एमाले युवा नेता जगन्नाथ खतिवडाले ७० प्रतिशत जनमत रहेको नेपालका कम्युनिस्ट पार्टीहरूले एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा जोड दिए । ‘देशमा कम्युनिस्ट पार्टीका करिब ७० प्रतिशत शुभेच्छुक, समर्थक छन्, के अहिले हाम्रा कम्युनिस्ट पार्टीका नेताहरूमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एउटै आन्दोलनको मूल प्रवाह बनाउने क्षमता छ ?’ खतिवडाले प्रश्न गरे, ‘पुष्पलाललाई स्मरण गर्दा एउटा मात्र कम्युनिस्ट पार्टीको परिकल्पना गर्न सक्छौँ कि सक्दैनौँ ? तर, अहिले हामी अनेकौँ कम्युनिस्ट पार्टी बनाएर हिँडेका छौँ । यसलाई सम्हालेर एक ठाउँमा ल्याउन सक्छौँ कि सक्दैनौँ ?’
 
 

सुझावित समाचार