संसदबाट बाहिरिँदै गर्दा देउवालाई मोदीको फोन

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेपछि आइतबार भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई पाएका छन् । संसद् भवनबाट बाहिरिनासाथ प्रधानमन्त्री देउवालाई मोदीको फोन आएको थियो । फोनमा बधाई दिएलगत्तै मोदीले सामाजिक सञ्जाल ट्विटरमा पनि बधाई दिएका छन् । 

प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने, साझेदारी अभिवृद्धि हुने विश्वास मोदीले व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा २९ असारमा पाँचौँपटक प्रधानमन्त्री नियुक्त भएका थिए । विगतमा प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई दिने प्रचलन भए पनि यसपटक मोदीले उनलाई टेलिफोन गरेका थिएनन् । नियुक्त भएको पाँचौँ दिन मोदीले बधाई दिएका हुन् ।

देउवाले प्रतिनिधिसभामा भारी मत पाएलगत्तै आइतबार राति १०ः३० बजे मोदीले ट्विटरमा बधाई सन्देश दिएका छन् । मोदीले भनेका छन्, ‘जनस्तरको गहिरो सम्बन्ध सुदृढ गर्न र सबै क्षेत्रको विशिष्ट साझेदारी थप वृद्धि गर्न प्रधानमन्त्री देउवासँग काम गर्न प्रतीक्षारत छु ।’ 

सुझावित समाचार