युरोकप २०२० अन्तर्गत पहिलो खेलमै आफ्ना मुख्य खेलाडी क्रिष्टियन एरिक्सन दुर्घटनामा परेपछि गहिरो पीडामा देखिएको डेनमार्कले त्यसबाट सम्हालिएर प्रिक्वार्टरफाइनल चरणको प्रेरणादायी यात्रा तय गरेको छ । त्यसका लागि उसले सोमबार राति रुसमाथि ४–१ गोलको सनसनीपूर्ण जित निकाल्यो ।
त्यही समय आफ्नै समूहको अर्काे खेलमा डेनमार्कले फिनल्यान्डलाई पराजित गरेपछि डेनमार्कको नकआउट चरणको यात्रा सहज भएको हो । कोपेहेगनमा भएको खेलमा डेनमार्कले निक्कै सशक्त प्रदर्शन गर्याे ।

डेनमार्कले खेलको ३८औँ मिनेटबाटै अग्रता बनाएको थियो । मिक्केल दाम्सगार्डले लामो दूरीबाट गरेको सशक्त प्रहार आकर्षक गोलमा परिणत भएको थियो । युफुफ पउल्सेनले खेलको ५९औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । रोमन जोबिनले आफ्ना साथीलाई दिएको व्याक पासलाई खोसेर उनले गोल गरेका थिए ।
रुसले खेलको ७०औँ मिनेटमा पेनाल्टी गोलमार्फत एक गोल फर्कायो । अर्तेम ज्युबाले पेनाल्टी अवसर सदुपयोग गरेका थिए । यद्यपि, त्यसपछि एन्द्रियाज क्रिष्टेन्सेन र जोएकिम मइहलेले एक–एक गोल थपेपछि डेनमार्कको आगाडिको यात्रा सम्भव भएको थियो ।
यो नतिजाले रुस भने प्रतियोगिताबाट बाहिरिएको छ । डेनमार्कलाई बराबरीमै मात्रै रोक्न सकेको भए पनि रुस समूह ‘बी’को उपविजेता टोलीको रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्ने थियो । यद्यपि, समूहगत चरणको अघिल्लो दुई खेल घरेलु मैदानमै खेलेर तेस्रो तथा अन्तिम खेलका लागि कोपेनहेगन आइपुगेको रुस आफूलाई आवश्यक नतिजा निकाल्न असफल रह्यो ।

अंक–तालिका
समूह बी
टिम खेल जित बराबरी हार गरेको गोल व्यहोरेको गोल गोलअन्तर अंक
बेल्जियम ३ ३ ० ० ७ १ ६ ९
डेनमार्क ३ १ ० २ ५ ४ १ ३
फिनल्याण्ड ३ १ ० २ १ ३ –२ ३
रुस ३ १ ० २ २ ७ –५ ३