काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेस्ट राष्ट्र पाकिस्तानका कप्तान साहिबजादा फर्हानलाई अनुबन्ध गरेको छ ।
क्लबले बिहीबार ३० वर्षीय मध्यक्रमका दायाँहाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् । बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो ।
मध्यक्रमका ब्याटर फर्हानले सन् २०१८ मा अस्ट्रेलियाबाट खेल्दै टी– २० आईमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी– २० मा ५१ खेल खेल्दा एक हजार पाँच सय ५४ रन बनाएका छन् । जसमा दुई शतक र १३ अर्धशतक सामेल छ । उनले रावलपिन्डीमा भएको पछिल्लो तीन टी– २० आईमै अर्धशतक बनाएका छन् ।
कर्णाली याक्स स्पोर्टस् प्रालिका मालिक गृहेन्द्र घिमिरेले फर्हानको आगमनसँगै टिमको मध्यक्रम बलियो बन्ने बताए । ‘फर्हानजस्ता खेलाडी एनपिएलमा खेलाउन पाउनु हाम्रो खुसीको कुरा हो । हामी उनलाई भित्र्याउन सफल भएका छौँ,’ मालिक घिमिरेले भने, ‘पाकिस्तानका कप्तान फर्हानको आगमनसँगै कर्णाली याक्सको मध्यक्रम निकै बलियो भएको विश्वास छ ।’
मालिक घिमिरेले फर्हानजस्ता खेलाडीलाई एनपिएलमा भित्र्याउन पाउनु पयर्टन प्रवर्द्धनमा अर्को खुड्किलो पार गरेको पनि बताए ।
पाकिस्तानी कप्तान तेस्रो सिजनका लागि कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्र्याइसकेको छ । त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक फर्हान, तलात, अरिफुल र अकबर तीनैजना पहिलोपटक एनपिएल खेल्दै छन् ।
कात्तिक ९ बाट सुरु हुने एनपिएलका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिसविक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।